काठमाडौं, मङ्सिर ११ गते । सभामुख देवराज घिमिरेले संसद् र समितिका कामकारबाही अतिरिक्त समयमा सञ्चालन गर्नका लागि सरकारले बजेट विनियोजनमा नियन्त्रण गरेको बताउनुभएको छ ।
सोमबार संसदीय समितिका सभापतिहरूसँग समितिको कामकारबाहीलाई अघि बढाउने बारे सिंहदरबारमा छलफल गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संसद् र संसदीय समितिको बैठक कार्यालय समयमै राख्न अर्थमन्त्री डा.प्रकाशशरण महतले आग्रह गर्नुभएको बताउनुभयो ।
सभामुख घिमिरेले नियमित समय बाहेक बैठक राख्दा कर्मचारीहरूलाई अतिरिक्त सुविधा नदिएको गुनासो कर्मचारीहरूले गरेको जानकारी दिनुभयो । उहाँले विगतमा संसद्लाई विभिन्न विदेशी एवम् दातृ निकायहरूबाट सहयोग प्राप्त हुने भए पनि पछिल्लो समय सहयोग घट्दै गएको र कतिपय सहयोग नेपालका लागि उपयुक्त नभएकाले पनि कम बन्दै गएको बताउनुभयो ।
उहाँले संसदीय गतिविधि अघि बढाउन आर्थिक पोटोलाई अर्थमन्त्री डा. महतले नियन्त्रण गर्नुभएको बताउनु भयो । बजेटको अभावमा सभा प्रभावकारी हुन नसकेको र सरकारले संसद्लाई चलायमान र प्रभावकारी बनाउन आवश्यक बजेट विनियोजन गर्नुपर्ने औँल्याउनुभयो । सभामुख घिमिरेले विगतका बैठकमा कर्मचारीहरूलाई अतिरिक्त समयको भत्ता दिन नसकेको भन्दै यसलाई व्यवस्थित नगर्ने हो भने संसद् र संसदीय समिति चल्न कठिन रहेको बताउनुभयो ।
सभामुख घिमिरेले संसदीय समितिहरूमा विषयवस्तु दोहोरिने र कार्यक्षेत्र स्पष्ट नहुने समस्या रहेको भन्दै आवश्यक समिति सभापतिहरूले समन्वय गर्नुपर्ने बताउनुभयो । उहाँले कार्यक्षेत्र र विषयवस्तुमा समस्या भए छलफल गरी समाधान गर्नुपर्नेमा सोच्न समिति सभापतिहरूलाई निर्देशन दिनुभयो ।
‘‘हामीले निर्णय गर्दा धेरै ध्यान पुर्याएर निर्णय गर्ने, गरेको निर्णय कार्यान्वयन गर्नका लागि मेहनत गर्ने । को लाग्ने, कसरी लाग्ने, कसरी कन्भिन्स गर्ने ? अब त्यसको परिणामहरू निकाल्दै अरू निर्णय गर्दै जाने यो तरिकामा हामी जानुपर्छ । त्यसरी जाऊँ भनेर भन्न चाहन्छु । समिति बनेर काम गरेको पनि पाँच महिना भइसक्यो । नेतृत्व छानेर काम गरेको तीन महिना त भइसक्यो । यस्तो स्थितिमा अब हाम्रो आफ्नो कार्यक्षेत्र केके हुनसक्छन् । र यसमा देखिएका समस्यालाई आपसमा समन्वय गरेर काम गर्नुपर्छ ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘यसका लागि आवश्यक पर्ने समितिको बिचमा समन्वय गर्ने नियमावलीमा व्यवस्था छ । अर्को विषयवस्तु दोहोरिने र कार्यक्षेत्र एउटै पर्ने, एउटै विषयमा धेरैतिर उजुर पर्ने र उजुरपछि सबै लिने कुरालाई पनि अब हामीले बसेर समन्वय गर्ने, त्यो समन्वय गरिरहँदा सभापतिहरूमा कसले हेर्ने भन्ने हुनुपर्छ । काम गर्ने सन्दर्भमा केही नमिलेका भए त्यसलाई मिलाउनुपर्ने भयो, काममा बेमेल भयो भने छलफल गरेर निष्कर्षमा पुग्नुपर्छ ।’’
सभामुख घिमिरेले समिति बनेको पाँच महिना बितिसक्दासमेत समितिको कार्यक्षेत्र स्पष्ट नभएकोमा आपसी समन्वय गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।