• १२ साउन २०८१, शनिबार

अखाद्य बस्तु बिक्री रोक्न कडाइ

blog

बजार अनुगमन गर्दै उपमहानगरको अनुगमन टोली । तस्विर : सिराज खान

सिराज खान 

नेपालगन्ज, मङ्सिर ११ गते । नेपालगन्जमा अखाद्य बस्तुको बिक्री रोक्न कडाइ सुरु गरिएको उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा लेवलिङ नगरिएका, म्याद गुज्रेका र अखाद्य बस्तुको विक्री भइरहेको स्थानीयको गुनासोपछि नेपालगन्ज उपमहानगरले कडाइ गरेको हो । 

नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख एवम् अनुगमन समितिका संयोजक कमरुद्दिन राईको नेतृत्वमा बजार अनुगमनलाई तीव्रता दिँदै अखाद्य बस्तुको विक्री रोक्ने अभियान सुरु गरिएको छ । 

सो क्रममा अनुगमन समितिले नगरका विभिन्न ५ वटा डेरी उद्योग, पसलहरूमा अनुगमन गरेको उपप्रमुख राईले बताउनुभयो । उहाँले सो क्रममा लेबलिङ नगरिएका अखाद्य दुध र दुग्धजन्य बस्तुहरू फेला परेकाले नष्ट गर्न चेतावनी दिइएको बताउनुभयो । 

उपप्रमुख राईका अनुसार अनुगमनका क्रममा लेवलिङ नगरिएका दुध र दुग्धजन्य पदार्थ धेरै भेटिएका छन् भने अन्य उद्योग, पसलमा सरसफाइको अवस्था कमजोर देखिनुका साथै आवश्यक कागजपत्र देखिनेगरी नराखेको पाइएको छ । 

जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख एवम् प्रतिनिधिसहितको अनुगमन टोलीले खजुरा रोडस्थित जनता दुग्ध डेरी उद्योगमा लेबलबिनाको आधा–आधा लिटरको ६ पोका दही नष्ट गरेको छ । 

सोही प्रकारले गणेशपुरस्थित अम्बे डेरी उद्योगमा लेवलिङ नगरिएका चार पोका डुनट नष्ट गरिएको छ । डिएसपी रोडस्थित कान्हा डेरी उद्योगमा थुप्रै अखाद्य पेयपदार्थ नष्ट गरिएको छ । म्याद गुज्रिएका कोकाकोला, फ्याण्टा, ४ प्याकेट ब्रेडलगायत बस्तु अनुगमन टोलीले नष्ट गरेको अनुगमन शाखा प्रमुख प्रविन रानाले बताउनुभयो ।

उहाँले गुणस्तर विश्लेषणका लागि जनता दुग्ध डेरीबाट पनिर, अम्बेबाट घ्यु र रियासत डेरी पसल डिएसपी रोडबाट दुधको नमुना ल्याइएको बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका खाद्य अनुसन्धान अधिकृत एकराज बुढाथोकीले खजुरा रोडस्थित खनाल डेरीमा पनि दुग्धजन्य बस्तु लेवलिङ नगरेको पाइएको जनाउँदै सो क्रममा उद्योग, पसल सञ्चालकलाई सचेत बनाइएको बताउनुभयो ।

उपप्रमुख राइको नेतृत्वको अनुगमन टोलीमा कार्यपालिका सदस्य वसन्त कनौजिया, नेपालगन्ज उपमहानगरपालिका अनुगमन शाखा प्रमुख राना, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्जका निमित्त प्रमुख अमित भूषण सुमन, खाद्य अनुसन्धान अधिकृत बुढाथोकी, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर गौतमलगायत सहभागी रहनुभएको थियो ।