काठमाडौं, मङ्सिर ११ गते । मेडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिना राष्ट्रपति चुनावमा विजयी हुनुभएको छ । माडागास्करका वर्तमान राष्ट्रपति एण्ड्री राजोएलिनाले ५० प्रतिशतभन्दा बढी मत ल्याएर राष्ट्रपतिको चुनाव जित्नुभएको हो ।
देशको स्वतन्त्र राष्ट्रिय निर्वाचन आयोगद्वारा जारी गरिएको प्रारम्भिक नतिजा अनुसार उहाँ विजयी बन्नुभएको हो । सीइएनआईले एक पत्रकार सम्मेलनमा राजोएलिनाले कुल २८ लाख ५६ हजार ९० भोट अर्थात् ५८.९५ प्रतिशत मत प्राप्त गरेको घोषणा गर्यो । ५० प्रतिशतभन्दा बढी मत प्राप्त गरेपछि वर्तमान राष्ट्रपतिले आफ्नो पहिलो चरणमा राष्ट्रपतिको चुनाव जित्नुभयो ।
उम्मेदवार सिटेनी रान्ड्रियानासोलोनाइको र पूर्व राष्ट्रपति मार्क राभालोमनाना क्रमशः १४.४ प्रतिशत र १२.१ प्रतिशत मत प्राप्त गर्दै दोस्रो र तेस्रो हुनुभयो । देशको राष्ट्रपतिको निर्वाचनलाई नियन्त्रित गर्ने कानुनअन्तर्गत उच्च संवैधानिक अदालतले आधिकारिक रूपमा सीइएनआईद्वारा अस्थायी नतिजा प्रकाशित भएको मितिको नौ दिनभित्र अन्तिम परिणाम घोषणा गर्नेछ ।
मडागास्करले १३ उम्मेदवारमध्येबाट अर्को पाँच वर्षका लागि राष्ट्रिय नेता चयन गर्न नोभेम्बर १६ मा राष्ट्रपति चुनावको पहिलो चरणको सुरु भएको थियो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल