• १२ साउन २०८१, शनिबार

यारी भन्सार कार्यालय बन्द

blog

बन्द रहेको यारी भन्सार कार्यालय । तस्बिर: गोरखापत्र

राजन रावत

हुम्ला, मङ्सिर ११ गते । नेपाल र चीनको सिमानामा स्थापना भएको यारी नाका भन्सार कार्यालय बन्द भएको छ । कार्यालय प्रमुख काठमाडौँ गएर बसेका छन् भने चीनको ताक्लाकोटबाट सामानहरू आई रहेको भए पनि कार्यालय बन्द गरिएको छ । 

सशस्त्र प्रहरी बलको सीमा सुरक्षा चौकी ( बिओपी ) सशस्त्र प्रहरी निरीक्षक पप्पु यादवले यारी नाका भन्सार कार्यालयमा ताला लगाएर कर्मचारी हिँडेको बताउनुभयो । कार्यालय प्रमुख राजराज जैसी कामले जिल्ला बाहिर गएको र उहाँसँगै कार्यालय सहयोगी समेत हिँडेको कारण कार्यालयमा ताला लगाइएको हो ।

ताक्लाकोटबाट सामान आउने कार्य भने जारी रहेको छ । सामान आउने क्रम हिमपात नभएसम्मका लागि जारी रहनेछ । उहाँले ताक्लाकोटबाट आउने सामानको लिस्ट बनाउने कार्य सशस्त्र प्रहरीले गरी रहेको बताउँदै त्यो लिस्ट म्यासेन्जरमा भन्सार कार्यालयका कर्मचारीलाई पठाउने गरेको बताउनुभयो । 

कर्मचारीले राजस्व काटेको रसिद आफ्नो म्यासेन्जरमा आएपछि मात्र सामान छोड्ने गरिएको उहाँले बताउनुभयो । यसअघि कार्यालयमा दरबन्दी अनुसारका कर्मचारी पूर्ति नभएको कारण राजस्व असुलीमा समस्या भई रहेको कार्यालयले जनाएको थियो ।