बडीमालिका समाचारदाता
मार्तडी, मङ्सिर ११ गते । बाजुराका भूकम्प प्रभावितको आवास निर्माणका लागि सरकारले १४ करोड रुपियाँ बजेट विनियोजन गरेको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार खप्तड छेडेदह गाउँपालिकामा १४ घर, गौमूल गाउँपालिकामा ४२७ घर र हिमाली गाउँपालिकाका २६७ घरमा क्षति पुगेको छ ।
त्यस्तै स्वामिकार्तिक गाउँपालिकामा १४ घर, जगन्नाथ गाउँपालिकामा ३१ घर, बडीमालिका नगरपालिकामा ६६६ घर र बुढीगङ्गा नगरपालिकाका छ घरमा क्षति पुगेको पाइएको छ । भूकम्पका कारण गौमूल गाउँपालिका–२ का जमुना रोकायाको मृत्यु र एक जना घाइते भएका थिए ।
हिमालीमा दुई जना र बडीमालिका नगरपालिकामा एक जना घाइते भएको प्रहरी कार्यालयले जनाएको छ । प्रमुख जिल्ला अधिकारी तथा जिल्ला विपत् व्यवस्थापन समितिका संयोजक भीमकान्त पौडेलले नेपाल सरकारबाट भूकम्प प्रभावितको आवास निर्माण तथा क्षतिपूर्तिका लागि उक्त बजेट विनियोजन गरिएको बताउनुभयो ।
उक्त रकम जिल्ला प्रशासन कार्यालयमा आइसकेको जानकारी उहाँले दिनुभयो । जिल्ला विपत् व्यवस्थापन समितिका पदाधिकारीसमेत रहेका स्थानीय तहका जनप्रतिनिधिसहितको बैठक बसेर सो रकम पालिकामा पठाई पुनर्निर्माणको काम तत्काल सुरु हुने भएको छ ।
उहाँका अनुसार रकम पालिकाको क्षतिको विवरण (पूर्ण, आंशिक, सामान्य) हेरेर वितरण गरिने छ । भूकम्प प्रभावितहरू त्रिपालमा बास्दै आएका छन् । भूकम्पपीडितलाई सहयोग
बाजुरा समाचारदाताका अनुसार बाजुराकी सामाजिक अभियन्ता रिता शाहीले जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गर्नुभएको छ । कात्तिक १७ गते राति ११ बजे आएको भूकम्पबाट प्रभावित जाजरकोट र रुकुमका स्थानीयलाई राहत वितरण गरेको शाहीले बताउनुभयो । उहाँले जाजरकोट र रुकुममा भूकम्पपीडितको गाँस, बास र कपासको समस्या भएकोले खाद्यान्न, त्रिपाल, सिरक, डसना, खाद्यान्न, खानेकुरा, न्यानो लुगा, ‘टिफम’ र कम्बल वितरण गरेको बताउनुभयो ।
जाजरकोटको नलगाड नगरपालिका–१ देखि ८ नम्बर वडाका छ सय र जाजरकोट आठबिस नगरपालिकाका ७० भन्दा बढी घरपरिवारलाई छ लाख बराबरको राहत वितरण गरेको अभियन्ता शाहीले बताउनुभयो ।
त्यस्तै मृतकका आफन्त, गर्भवती र सुत्केरी महिलालाई नगद एक लाख रुपियाँसमेत हस्तान्तरण गरिएको सामाजिक अभियन्ता शाहीले बताउनुभयो । समाजसेवी शाहीले महिला तथा बालबालिकालाई स्वास्थ्य सामग्री सहयोग गर्नुभएको छ ।