• १५ मंसिर २०८१, शनिबार

मुर्रा राँगाको ‘सिमोन’ वैशाखबाट

blog

लेखनाथ समाचारदाता

लेखनाथ, मङ्सिर ११ गते । नेपालमा भैँसीको नस्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाको वीर्य (सिमोन) आगामी वैशाखबाट नेपाली किसानले पाउने भएका छन् । भारतले नेपाललाई उपहारस्वरूप उन्नत जातका १५ मुर्रा राँगा उपलब्ध गराएको हो । 

पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा सात राँगा ल्याइएको छ । पशु प्रजनन कार्यालयका प्रमुख डा. जगदीश पाण्डेले राँगालाई क्वारेन्टाइनमा राखिएको जानकारी दिनुभयो । “अब स्वास्थ्य परीक्षण र वीर्य उत्पादनको चरण पार गरी किसानसम्म नस्ल सुधारका लागि मुर्राको वीर्य वैशाखबाट पठाउन सकिन्छ,” उहाँले भन्नुभयो ।  नेपाल ल्याइएका १५ मध्ये तीन राँगा लहान र पाँच नेपालगन्ज पठाइएको छ । 

राँगाहरूलाई पोखरामा फूलमालाले स्वागत गरिएको थियो । एक महिनाको क्वारेन्टाइन अवधिमा कुनै रोग नदेखिए तिनलाई मूल गोठमा राखिने छ । भारतबाटै निरोगिताको प्रमाणपत्र प्राप्त राँगामा बाटोमा सङ्क्रमण भएको हुन सक्ने भएकाले क्वारेन्टाइनमा राखिएको हो । 

पुसबाट परीक्षणका लागि वीर्य सङ्कलन गर्ने केन्द्रको तयारी छ । सङ्कलित वीर्य प्रयोगशालामा जाँच गरी उपयुक्त प्रमाणित भएपछि मात्र देशका विभिन्न भागमा पठाइने डा. पाण्डेले बताउनुभयो । 

सबै राँगा दुईदेखि तीन वर्ष पूरा भएका छन् । अब सात वर्षसम्म यी राँगाबाट स्वस्थ वीर्य निकाल्न मिल्छ । एउटा राँगाबाट वार्षिक १५ देखि २० हजार डोज वीर्य उत्पादन हुने अनुमान गरिएको छ । 

पुसबाट वीर्य सङ्कलनको ट्रायल सुरु गरी माघबाट स्टोर गर्ने तयारी छ । हप्तामा दुई पटक वीर्य सङ्कलन गरिने छ । नेपाली भैँसीले एक बेतमा एक हजार पाँच सय लिटर हाराहारीमा दुध दिन्छन् । 

मुर्रा भैँसीले भने एक बेतमा तीन हजारदेखि चार हजार पाँच सय लिटरसम्म दुध दिने कार्यालय प्रमुख डा. पाण्डे बताउनुहुन्छ । “एकातिर नस्ल सुधार भई अर्काे पुस्ताबाट दुध धेरै आउँछ भने तौलसमेत धेरै हुने हुँदा मासुकै लागि पनि फाइदा हुन्छ,” उहाँ भन्नुहुन्छ ।