• ९ जेठ २०८१, बुधबार

फालेलुङ महोत्सव मङ्सिर २५ देखि २७ सम्म

blog

फालेलुङ महोत्सव आयोजना हुने स्थल र यहाँबाट देखिएको कञ्चनजङ्घा हिम शृङ्खला । तस्बिर: गोरखापत्र

राधा लुइँटेल

फिदिम, मङ्सिर ११ गते । भारत र सिक्किमसँगका सीमावर्ती क्षेत्रमा रहेका पर्यटकीय स्थलको प्रवर्धन गर्न भन्दै पाँचथरको फालेलुङमा महोत्सव आयोजना गरिएको छ ।

फालेलुङ ४ को थाप्लिटारमा महोत्सव आयोजना गरिएको हो । महोत्सवको प्रवर्धन फालेलुङ गाउँपालिकाले गरेको छ भने व्यवस्थापनको जिम्मेवारी तिन सिमाना जन सेवा समाजले गर्ने भएको छ ।

त्यस क्षेत्रका लाम पोखरी,सुके पोखरी,भैसेभोखरी,हेवा गङ्गा,तीनछाँगे झर्ना,पानावा झर्ना,मुवा झर्ना,नरेलुङधाम,पुस्तके ढुङगा जस्ता पर्यटकीय स्थल र त्यहाँ पाइने २८ प्रजातीका गुराँस र जडिवुटी,रेडपाण्डा,गिद्वभालु,बँदेल,बनकुकुर,मृग,भीर मौरी,कण्ठे चाँचर,भ्याकुर,प्युरा लगायतका पंक्षीको संरक्षणका लागि महोत्सवले सघाउ पुर्याउने आयोजक तीन सिमाना सेवा समाजका अध्यक्ष योगेन्द्र सावदेनले बताउनुभयो ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा पर्यटकीय र धार्मिक स्थलको प्रचार प्रसारका लागि अन्तरक्रिया,भ्रमण र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने बताइएको छ । महोत्सवमा पाँच हजारको सहभागिता रहने अपेक्षा आयोजकको छ ।

फिदिममा आयोजित पत्रकार सम्मेलनमा आयोजक तीन सिमाना जनसेवा समाजका पदाधिकारीहरूले महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । महोत्सव आयोजना स्थलबाट कञ्चनजङ्घा,कुम्भकर्ण र सगरमाथा सहितका आधा दर्जन भन्दा धेरै हिमालको दृश्यावलोकन गर्न सकिन्छ ।