• १० मंसिर २०८१, सोमबार

नेपाल सुपर लिग : धनगढीको विजयी सुरुवात

blog

काठमाडौँ, मङ्सिर १० गते । साविक उपविजेता धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलमा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा आइतबार साँझ भएको खेलमा धनगढी एफसीले वीरगञ्ज युनाईटेड एफसीलाई २–१ गोलले हरायो ।

धनगढीले खेल सुरु भएको दोस्रो मिनेटमै विदेशी खेलाडी फोडे फोफानाको गोलमा अग्रता लएको थियो । त्यसपछि पहिलो हाफको इन्जुरी समयमा वीरगञ्जले पेनाल्टीमा गोल गर्दै खेललाई बराबरीमा ल्यायो ।

बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा धनगढीका अहमद हिजाजीले गोल गर्दै टोलीलाई सानदार जित दिलाउनुभयो । पहिलो जितसँगै धनगढीले तीन अङ्क बनाएको छ । एनएसएलको नवप्रवेशी टोली विरगञ्जले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।

पुस १४ गतेसम्म चल्ने एनएसएलमा नौ वटा फ्रेन्चाइज टोलीको सहभागिता रहेको छ । जसमा धनगढी एफसी, ललितपुर सिटी एफसी, पोखरा थण्डर्स, एफसी चितवन, विराटनगर सिटी एफसी, बुटवल लुम्बिनी एफसी, झापा एफसी, स्पोर्टिङ इलाम डी मेची र वीरगञ्ज युनाइटेड रहेका छन् ।

सहभागी टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा खेल हुनेछ ।  क्वालिफायर र फाइनल गरी कूल ४० खेल हुनेछ । जसबाट अन्तिममा एक टोली च्याम्पियन बन्नेछ । प्रतियोगिताको विजेताले ७० लाख देखि एक करोड रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।