• ८ जेठ २०८१, मङ्गलबार

पीडितद्वारा पीडकको घर अगाडि प्रदर्शन

blog

पीडितहरु प्रदर्शन गर्दै । तस्विर : बोमलाल गिरी

बोमलाल गिरी 

नवलपुर, मंसिर १० गते । नवलपुरका मिटरब्याज पीडितहरूले पीडकको घर अगाडि प्रदर्शन गरेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति बनाएर सङ्गठित भएका पीडितले पहिलो चरणको विरोधको कार्यक्रमअन्तर्गत माया भण्डारीको कावासोतीमा रहेको घरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन् । 

यसअघि जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा ज्ञापनपत्र बुझाएका पीडितहरूले माग सुनुवाइ नभएको भन्दै प्रदर्शन गरिएको सङ्घर्ष समितिका संयोजक गोमा घिमिरेले बताउनुभयो । अब क्रमैसँग अन्य पीडकहरूको घर अगाडि पनि प्रदर्शन गरिने उहाँको भनाइ छ ।  

त्यसअघि सङ्घर्ष समितिले आइतबार जिल्लाका राजनीतिक दल र सरोकारवालासँग सामूहिक अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा सहभागी राजनीतिक दलका नेताहरूले मिटरब्याजका कारण धेरै जना विस्थापित भएको, घरबारविहीन भएको, कैयौँले आत्महत्याको जमर्को गरेको भन्दै अव पीडितहरू दबिएर बस्न नहुने बताउनुभयो । 

मिटरब्याज पीडितहरू कुनै न कुनै राजनीतिक दलमा आबद्ध रहेको भन्दै दलहरूले त्यस्ता पीडकलाई संरक्षण गर्न नहुनेमा जोड दिनुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का पोलिटब्युरो सदस्य किसन शर्मा गैरे, जनजाति महासङ्घका जिल्ला अध्यक्ष रामकुमार श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गिरबहादुर महतरा, नेपाली कांगेसका नेता किरण भुर्तेल, नेकपा मालेका जिल्ला अध्यक्ष लोकप्रसाद काफ्लेलगायतले पीडितको पक्षमा कुरा राखेका थिए ।