• ८ जेठ २०८१, मङ्गलबार

मित्रवत् राजनीतिमा नेपाल अग्रणी : सचिव भट्टराई

blog

चियापान कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै एमाले सचिव योगेशकुमार भट्टराई । तस्बिर : चन्द्र पन्दाक

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर १० गते । नेकपा (एमाले) का सचिव योगेशकुमार भट्टराईले मित्रवत् तथा मैत्रीपूर्ण राजनीतिमा नेपाल अग्रणी स्थानमा रहेको बताउनुभएको छ । अधिकांश देशमा फरक राजनीतिक दलका नेता एक ठाउँमा भएको स्थिति नरहेको भन्दै नेपालका दल र नेताको त्यस्तो अवस्था नरहेको उहाँको भनाइ छ ।   

आवश्यकताअनुसार नेपालका राजनीतिक दल तथा दलका नेता एकै ठाउँमा बस्न र उभिन सक्ने संस्कार रहेकाले मित्रवत् राजनीतिका लागि नेपाल अग्रणी स्थानमा रहेको उहाँले चर्चा गर्नुभयो । नेपाली राजनीतिक दलबिच रहेको संस्कारले सकारात्मक सन्देश दिइरहेको बताउनु हुँदै नेता भट्टराईले यसलाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । 

आ–आफ्नो सिद्धान्त र विचारले मात्र राजनीतिक दल फरक भएकोभन्दै उहाँले मैत्रीपूर्ण व्यवहार र राजनीतिक सद्भावका कारण दलहरू कहिल्यै टाढा नरहेको उहाँको भनाइ छ । एमाले ताप्लेजुङले आयोजना गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमले आपसी सद्भाव र मित्रवत् राजनीति कायम राख्न थप सहयोग पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  

चियापान कार्यक्रममा एमाले पोलिटब्युरो तथा प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो, केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यद्वय वसन्तकुमार नेम्बाङ र उर्मिला थेबे लगायतका नेतृत्वहरूको सहभागिता रहेको थियो । 

त्यस्तै, नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने प्रतिनिधि सभा सदस्य लीलादेवी बाेखिम, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) लगायत विभिन्न राजनीतिक दलका जिल्ला नेतृत्व तथा प्रतिनिधि चियापानमा सहभागी बन्नुभएको थियो । 

एमाले जिल्ला पार्टी कार्यालयमा आयोजना गरिएको चियापानको प्रायोजकका रूपमा प्रतिनिधिसभा सदस्यद्वय भट्टराई र थेबे तथा प्रदेशसभा सदस्य मेन्याङ्बो रहनुभएको एमाले जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष सन्तोष खतिवडाले जानकारी दिनुभयो । उहाँकाअनुसार दसैँ, तिहार, छठ, चासोक तङ्नाम, उधौली, ल्होसारजस्ता नेपालीको चाडपर्वको अवसरमा चियापान कार्यक्रम आयोजना गरिएको छ ।