मीना कंडेल
कावासोती, मङसिर १० गते । पूर्वी नवलपरासीको कावासोतीमा निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर आयोजना भएको छ । तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब र मध्यबिन्दु आँखा उपचार केन्द्रको संयुक्त आयोजनामा तीन दिने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको हो ।
केही महिनाअघि स्थानीय तहमा निःशुल्क आँखा चेकजाँच गर्दा समस्या भएका आँखाका बिरामीको आइतबार अप्रेसन गरिएको हो । हुप्सेकोट गाउँपालिका–१ का अम्बिका पाण्डे (८४) ले मोतियाविन्दुको निःशुल्क अप्रेसन गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “आँखा देख्न नसक्दा समस्या भएको थियो । ढल्केको उमेरमा यसै पनि आँखा देखिँदैन तर मेरो त मोतियाविन्दु भएकाले देख्न नसक्ने भएँ । अप्रेसनपछि आँखा देख्न सक्ने भएको छु । खुसी लागेको छ ।”
मध्यविन्दु १५ का रामसरिया थारु पनि ८० वर्षको उमेरमा आँखा देख्न पाउँदा संसार नै उज्यालो भएको बताउनुभयो । उमेरले नै आँखा नदेख्ने, कान नसुन्ने र अन्य काम गर्न नसक्ने समयमा आँखामा समस्या हुँदा धेरै अप्ठेरो भएको गुनासो गर्नुभयाे । उहाँले भन्नुभयो, “नगरपालिकाले नै आवात जावतका लागि सवारीसाधन उपलब्ध गराएको छ, धेरै प्रभावकारी भएको छ ।”
तिलगंगा आँखा प्रतिष्ठान प्राविधिक संयोजक अनु मानन्धरको नेतृत्वमा १५ जनाको समूह तथा डा. सरोज देवकोटाको संयोजकत्वमा भएको उक्त शिविरमा पाँचसय जना आँखाको मोतियाविन्दु अप्रेसन गर्नका लागि नाम टिपाएका छन् । पहिलो दिन आइतबार एकसय जनाभन्दा बढीको निःशुल्क मोतियाविन्दुको अप्रेसन भएको संयोजक देवकोटाले बताउनुभयो ।
तिलगंगा आँखा प्रतिष्ठान, रोटरी क्लब अफ कावासोती, तथा रोट्याक्ट क्लब अफ कावासोती, मध्यबिन्दु आँखा उपचार केन्द्र लगायत विभिन्न संस्थाहरूको सहयोगमा कावासोती १६, डण्डास्थित अग्यौली पुस्तकालयमा तीन दिने निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सुरु भएको छ ।
ग्रामीण भेगमा बिरामी सङ्ख्या बढ्दै जाँदा यसतर्फ सचेत रहँदै निःशुल्क मोतियाविन्दुको अप्रेसन शिविर सञ्चालन गरिएको रोटरी क्लब अफ कावासोतीका अध्यक्ष हरिहर अधिकारीले बताउनुभयो ।
आँखा परीक्षण शिविरमा आएका करिब २२ प्रतिशतमा मोतियाविन्दु देखा परेकाले मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेको संस्थापक अध्यक्ष रोटरियन भरत शर्मा पोख्रेलले जानकारी दिनुभयो ।