काठमाडौँ, मङ्सिर १० गते । पाँचौँ संस्करणको ललितपुर महानगरपालिका मेयर कप अन्तर वडा टेबल टेनिस प्रतियोगिताको मङ्सिर १२ देखि १६ गतेसम्म हुने भएको छ ।
प्रतियोगितामा पाँच सय भन्दाबढी खेलाडीको सहभागिता रहने आइतबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक नदिमरत्न महर्जनले जानकारी दिनुभयो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।
ललितपुर जिल्ला टेबल टेनिस सङ्घ, खोल्चा पाखु खेलकुद उप समिति र खोल्चा पोखरी टोल सुधार समितिको संयुक्त आयोजना हुने प्रतियोगिताका खेलहरू वडा नम्बर ११ स्थित तल्लो चाकुपाट खोल्चा पोखरी टोलमा हुनेछ ।
प्रतियोगितामा महिला पुरुष एकल, डबल्स, टिम, जुनियर ब्वाइजर गर्ल्स सिङ्गल (यु–१२०, यु–१६ जुनियर ब्वाइज र गर्ल्स कक्षा १० भन्दामुनि, भेट्रान महिला र पुरुष एकल ४० वर्ष भन्दामाथि), भेट्रान पुरुष एकल ५० र ६० वर्षभन्दामाथि तथा स्थानीय एकल, खोल्चा पुखु उप समिति) स्पर्धा समावेश गरिएको छ ।
कूल तीन लाख ५० हजार रुपियाँ पुरस्कार राशि रहेको प्रतियोगितामा महिला र पुरुष एकलमा पहिलो, दोस्रो र सेमिफाइनल पुग्नेलाई नगद पुरस्कारसहित प्रमाण पत्र र मेडल प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्न २५ लाख रुपियाँ खर्च हुने बताइएको छ ।