• ९ जेठ २०८१, बुधबार

राप्तीसोनारीमा निःशुल्क स्वास्थ्य सेवा

blog

स्थानीयको स्वास्थ्य जाँच गर्दै बाँके राष्ट्रिय निकुञ्ज अन्तर्गत अर्जुनबाण गणका चिकित्सक । तस्विर : गजेन्द्र गुरुङ

गजेन्द्र गुरुङ

खजुरा, मङ्सिर १० गते । बाँकेको राप्तीसोनारी गाउँपालिका ९ स्थित जनता माध्यमिक विद्यालयमा भएको निःशुल्क स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले सेवा लिएका छन् । 

राप्तीसोनारी गाउँपालिकाले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरी र एचसीआरसी अस्पतालसँगको समन्वय र सहकार्यमा आयोजना गरेको स्वास्थ्य शिविरमा ६ सय १५ जना स्थानीयले एक हजार एक सय १२ प्रकारका सेवा लिएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीयवासीलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा दिने उद्देश्यका साथ शिविर आयोजना गरिएको हो । स्त्री तथा प्रसूति सेवा ११२ जनाले, अर्थोपेडिक सेवा २४८ जनाले, मेडिसिन सेवा २५० जनाले, छाला रोग उपचारसम्बन्धी सेवा ६२ जनाले, इएनटी सेवा २६१ जनाले र मुटु रोगसम्बन्धी सेवा ८० जनाले लिएको केसीले बताउनुभयो । जसमध्ये ३२ जनाले ल्याब सेवा र ४५ जना स्थानीयले इसीजी सेवा समेत लिनुभएको थियो । 

अर्जुनबाण गणका अर्थोपेडिक सर्जन डा. अमृतरत्न शाक्य, नेपाली सेनाकै फिजिसियन डा. सुरेश कायस्थ, भेरी अस्पतालका कार्डियोलोजिष्ट डा. विकास नेपाल, डर्माटोलोजिष्ट डा. कमलजङ्ग शाही, स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. मञ्जु बिसी शाह, इएनटी सर्जन डा. कविर बाँस्तोलासहित पालिकाका १५ जना स्वास्थ्यकर्मीले बिरामीलाई सेवा प्रदान गर्नुभएको थियो । 

निःशुल्क स्वास्थ्य शिविरको गाउँपालिकाका अध्यक्ष तप्तबहादुर पौडेलले उद्घाटन गर्दै विशेषज्ञ चिकित्सकसहितका यस्ता शिविरले स्वास्थ्य सेवासँगको पहुँच स्थापित हुने बताउनुभयो । उहाँले गाउँपालिकाले स्वास्थ्य सेवालाई सबैको पहुँचमा ल्याउन प्रभावकारी ढङ्गबाट काम गरिरहेको पनि बताउनुभयो । आफ्नै टोल तथा छरछिमेकमा हुने यस्ता शिविरले विशेषज्ञ सेवा लिन बजार धाउनुपर्ने अवस्थाको अन्त्य गरेको बताउँदै अध्यक्ष पौडेलले बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गणसँगको सहकार्यमा अन्य ठाउँमा पनि स्वास्थ्य शिविर राख्ने गरी पालिकाले योजना बनाउने पनि उल्लेख गर्नुभयो । 

गाउँपालिकाका उपाध्यक्ष मनिषा थारुले पालिकाले स्वास्थ्य सेवालाई प्राथमिकता दिएर काम गरिरहेको बताउनुभयो । उहाँले बाआमासँग अध्यक्ष, गर्भवतीसँग उपाध्यक्ष लगायतका कार्यक्रमहरु गरेर पालिकाले सबै उमेर समूहका व्यक्तिहरुको स्वास्थ्यप्रति संवेदनशीलताको नमुना देखाएको उल्लेख गर्नुभयो । उहाँले घरदैलोमा आयोजना गरिने स्वास्थ्य शिविरले खासगरी महिला, ज्येष्ठ नागरिकहरुलाई लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

बाँके राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ अर्जुनबाण गण ओभरीका निमित्त गणपति गङ्गाधर खत्रीले स्थानीय सरकारले आयोजना गरेको शिविरमा समन्वय र सहकार्य गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले नेपाली सेना जनताको सेवाका निमित्त सधैं तयार रहेको बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा वडा नं. ९ का वडाअध्यक्ष सोहनलाल थारुले स्वागत मन्तव्य व्यक्त राख्नुभएको थियो । आफ्नै गाउँघरमा विशेषज्ञसहितको निःशुल्क स्वास्थ्य सेवा पाउँदा स्थानीय खुशी छन् ।