• १५ मंसिर २०८१, शनिबार

गाउँमै प्रसूति सेवा उपलब्ध

blog

बुटवल समाचारदाता 

बुटवल, मङ्सिर १० गते । रुपन्देहीका पालिकाहरूमा स्थापना भएका स्वास्थ्य संस्थामै प्रसूति सेवा उपलब्ध हुन थालेपछि गर्भवतीलाई निकै सुविधा पुगेको छ । पालिकाहरूले पछिल्लो समय गर्भवती महिलाको स्वास्थ्य सुरक्षामा ध्यान दिँदै प्रसूति सेवाको पहुँचलाई सहज बनाउँदै लगेका हुन् । 

अधिकांश पालिकाहरूले प्रसूति सेवालाई प्रभावकारी बनाउने गरी बजेट विनियोजन गरेका छन् । रुपन्देहीको कञ्चन गाउँपालिकामा एक वर्षमा ६४० जना सुत्केरी भएकोमा ५८१ जनाले स्थानीय स्वास्थ्य संस्थाबाटै गर्भवती सेवा लिएका छन् । 

कञ्चन गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद गौतमले पछिल्लो समय कञ्चनका गर्भवतीहरू पालिकाको स्वास्थ्य चौकीमा आएर सुत्केरी हुने क्रम बढेको उल्लेख गर्नुभयो । आमा र बच्चाको मृत्युदर घटाउन कञ्चनमा योजनाबद्ध भएर काम गरिरहेको उहाँको भनाइ छ । कञ्चनको स्वास्थ्य चौकीभित्रै निःशुल्क गर्भवती जाँच, निःशुल्क प्रयोगशालाको व्यवस्थाका साथै सुत्केरी तथा गर्भपतन सेवा उपलब्ध छ । 

बुटवल उपमहानगरपालिकाले समेत बुटवलका स्वास्थ्य चौकीहरूबाट गर्भवती महिलाका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरेको छ । बुटवल वडा नं. ९ र ११ का गर्भवती महिलाका लागि बुटवलको बुद्धनगरस्थित सहरी स्वास्थ्य केन्द्रबाट समेत गर्भवती सेवा सुरु भएको छ । 

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलले स्वास्थ्यका क्षेत्रमा धेरै काम गरिरहेको बताउनुभयो । शिशु पोषण कार्यक्रम अन्तर्गत दुई हजार रुपियाँ, पाठेघर तथा स्तन क्यान्सर परीक्षणलगायतका स्वास्थ्यलक्षित सेवा प्रदान गरिरहेको बताउनुभयो । नगर प्रमुख पाण्डेले चालू आर्थिक वर्षमा ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने, गर्भवती तथा सुत्केरी महिलालाई दुग्धवर्धक जटीबुटीजन्य सामग्री प्रदान गरेको बताउनुभयो ।

बुटवल उपमहानगर स्वास्थ्य शाखाका उपनिर्देशक युवराज पाण्डेले बुटवलका १२ वटै स्वास्थ्य संस्थामध्ये बुद्धनगरको सहरी स्वास्थ्य संस्थामा हरेक महिना तीन दिन र अन्य संस्थाहरूबाट हरेक महिना एकदिन गर्भवती महिलाको भिडियो एक्सरे सेवा निःशुल्क भएको बताउनुभयो ।

कञ्चन गाउँपालिकाको वडा नं. २ फूलबारीमा रहेको गजेडी स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवाको शुभारम्भ गरिसकेको छ । कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गाउँघरकै स्वास्थ्य संस्थाबाट प्रसूति सेवा शुभारम्भ गरेर गर्भवती महिलालाई छिटो सेवा दिने काम भइरहेको बताउनुभयो ।