अर्जुन काफ्ले
स्याङ्जा, मङसिर ९ गते । सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङजाको करादि खोलामा मोटरसाइकल र भारतीय कार ठोकिदा मोटरसाइकलमा सवार दुईजना गम्भीर घाइते भएका छन् ।
दुर्घटनामा गल्याङ नगरपालिका–८ का ३० वर्षीय कुलबहादुर राना र २३ वर्षीय सुरज राना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय स्याङजाका नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताउनुभयो ।
घाइतेको गह्रै कालिका प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पश्चात् गण्डकी मेडिकल पोखरामा लगिएको रानाले बताउनुभयो । बुटवलबाट स्याङ्जातर्फ आउँदैगरेको युपी ४५ भी ४६०१ नम्बरको कार र वालिङबाट गल्याङ जाँदै गरेको लु ११ प ६७११ नम्बरको मोटरसाइकल एकापसमा ठोकिएको थियो ।
ठक्करबाट मोटरसाइकल पूर्ण रूपमा नष्ट भएको छ । कार र कार चालकलाई वालिङ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।