काठमाडौँ, मंसिर ९ गते । नेपाल -याफ्टिङ एन्ड क्यानोइङ सङ्घको पाँचौँ चुनावी साधारण सभाले राजीव श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय केन्द्रीय कार्यसमिति शनिबार निर्विरोध चयन गरेको छ । यसअघि श्रेष्ठ करिब ३ वर्ष सङ्घको कार्यवाहक अध्यक्षको भूमिकामा हुनुहुन्थ्यो ।
-याफ्टिङमा आउनुअघि श्रेष्ठ नेपाल बक्सिङ सङ्घ (अहिले नेपाल बक्सिङ महासङ्घ) को नेतृत्वमा हुनुहुन्थ्यो । श्रेष्ठ नेपाल ओलम्पिक कमिटीका पूर्व सह–महासचिव पनि हुनुहुन्छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सूर्यप्रसाद जोशी तथा उपाध्यक्षद्वयमा गोविन्दप्रसाद थपलिया र महेन्द्रसिंह थापा रहनुभएको छ ।
सुदीपराज गौतमले महासचिव, सुनिल अर्यालले सचिव र महेश थापाले कोषाध्यक्षको जिम्मेवारी पाउनुभएको छ । रिता अधिकारी, दीपक भुजेल, निमबहादुर मगर, कुमार श्रेष्ठ, रुनिका डङ्गोल र कौशिला प्रधान सदस्यमा चयन हुनुभयो ।
नवनिर्वाचित पदाधिकारीहरूलाई प्रमुख निर्वाचन अधिकृत एवं राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत खेलकुद विकास विभागका प्रमुख मीनकुमार शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको थियो ।
त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गर्नुभएको थियो । साधारण सभामा चार प्रदेशबाट आठ तथा केन्द्रबाट २४ गरी जम्मा ३२ प्रतिनिधिको उपस्थिति रहेको थियो ।