अमरराज नहर्की
तनहुँ, मङ्सिर ९ गते। जाडो सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेङगु हराउनु पर्नेमा तनहुँमा अझै सङ्क्रमण रोकिएको छैन। अझै केही दिन डेङ्गु देखा पर्नेक्रम जारी हुनसक्ने भएकोले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
सङ्क्रमण नरोकिएकाले तनहुँमा डेङ्गु सङ्क्रमितको सङ्ख्या सात हजार नाघेको छ। तनहुँको दश पालिकामा शनिबारसम्ममा सात हजार १६६ जनालाई डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो। अधिकारीका अनुसार पालिकामध्ये सबैभन्दा बढी प्रभावित व्यास नगरपालिकामा पाँच हजार आठ सय २२ सङ्क्रमण भएको छ। अन्य नौ पालिकामा एक हजार तीन सय ४४ सङ्क्रमित छन्।
चाडपर्वको समयमा डेङ्गुबाट सङ्क्रमण धेरै भएकाले बिरामीको चाप धेरै हुँदा उपचारमा समस्या भएको दमौली अस्पतालका प्रमुख डा. परिवर्तन बरालले बताउनुभयो। जोगिन सुत्ने समयमा झूलको प्रयोग, पूरा बाउला भएको कपडा प्रयोग गर्ने तथा घर वरिपरि पानी जम्न नदिन चिकित्सकले सुझाव दिएका छन्।
लामखुट्टेको टोकाइबाट बच्नु नै उत्तम उपाय भएको डा. बराल बताउनुहुन्छ। बरालले भन्नुभयो, ‘‘जाडो सुरु भएसँगै डेङ्गुको सङ्क्रमण कम भएपनि नियन्त्रणमा भने नआएकोले सतर्कता अपनाउनु आवश्यक छ।’’ तनहुँमा अहिलेसम्म ६ जनाले डेङ्गुबाट ज्यान गुमाएका छन्।