राजन रावत
हुम्ला, मङ्सिर ९ गते । पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ। सम्झौता अनुसार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालसम्म बजेटको व्यवस्थापन नगर्दा सुरु भएको निर्माण कार्य अगाडि बढ्न कठिन भएको हो।
खार्पुनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीका अनुसार दुई वर्ष अगाडि पाँच करोड लागत लाग्ने गरेर खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्य अगाडि बढेको भए पनि बजेट अभावको कारण हाल निर्माण कार्य अगाडि बढाउन समस्या भइरहेको छ।
शिवालय क्षेत्र पर्यटकीय स्थलका रूपमा पर्छ। उक्त निर्माण कार्यका लागि पर्यटन मन्त्रालयले साढे तीन करोड र गाउँपालिकाले साढे एक करोड बजेटको साझेदारीमा गर्न लागिएको हो।
गाउँपालिकाले दिने डेढ करोड बजेट अघिल्लो आर्थिक वर्षसम्म भुक्तानी दिई सकिएको भए पनि मन्त्रालयले दुई आर्थिक वर्षमा जम्मा साठी लाख बजेट पठाएको छ।
मन्त्रालयले बजेट समयमै नपठाएको कारण शिवालय क्षेत्रको निर्माण कार्य निर्धारित मितिमा सम्पन्न नहुने देखिएको छ भने लागत समेत बढ्ने छ। गाउँपालिकाले कामको प्रगति विवरण पटक पटक पटाउँदा पनि मन्त्रालयबाट थोरै बजेट पठाउने कार्य भएको कारण यस पटक मन्त्रालयमा डेलिगेसन जाने तयारीमा गाउँपालिका रहेको छ।
शिवालय क्षेत्रको निर्माण कार्यको जिम्मा पाएको धर्म एस ग्याङ्चुक जेभीका प्रतिनिधि कृष्ण हमालले आर्थिक वर्ष ०७७।०७८ मा निर्माण कार्य अगाडि बढाउन सम्झौता भएको भए पनि बजेट अभावको कारण काम गर्न समस्या भइरहेको बताउनुभयो।
सम्झौता अनुसार शिवालय क्षेत्रको निर्माण कार्य २०८१ वैशाख महिनामा सम्पन्न गर्नुपर्ने हुन्छ। उहाँले आफूहरू समय मै काम सम्पन्न गर्ने गरी लागेको भए पनि मन्त्रालयबाट बजेट नहुँदा काममा अवरोध भएको हो।
निर्माण कम्पनीले शिवालय क्षेत्र जाने सडक ढलान, कर्णाली नदी किनारमा ग्याबिन हाल्ने, दोजाम कर्णाली नदीको टापुमा पार्क निर्माण गर्ने कार्य गरिरहेको छ। शिवालय क्षेत्रमा शिव लिङ्ग निर्माण कार्य सुरु भएको छ। कतिपय काम निर्माण कम्पनीले उधारोमा गर्नु परिरहेको जनाएको छ।