• १५ मंसिर २०८१, शनिबार

नेपाली कांग्रेसका शीर्ष नेता नवलपुर आउनुहुँदै

blog

देवचुली नगरपालिकाको दलदलेमा पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनको सबै तयारी पूरा भएको जानकारी दिनुहुँदै कांग्रेसका जिल्ला सभापति महेन्द्रध्वज जिसी । तस्बिर : बोमलाल गिरी

बोमलाल गिरी
नवलपुर, मङ्सिर ९ गते । 
नेपाली कांग्रेसका शीर्ष नेताहरू मङ्सिर ११ गते सोमबार नवलपुर आउनुहुने भएको छ । पार्टीको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्न पार्टी सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, पूर्व महामन्त्री डा.शशाङ्क कोइराला, गण्डकीका मुख्यमन्त्री सुरेन्द्र पाण्डे लगायतका नेताहरू नवलपुर आउन लाग्नु भएको हो ।

देवचुली नगरपालिकाको दलदलेमा शनिबार पत्रकार सम्मेलन गरी जिल्ला सम्मेलनको सबै तयारी पूरा भएको कांग्रेसका जिल्ला सभापति एवम् गण्डकी प्रदेशका कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीले जानकारी दिनुभयो । राज्य पुनर्संरचनापछि बनेको कांग्रेसको संशोधित विधानअनुसार नवलपुरमा पहिलो पटक सम्मेलन गर्न लागिएको उहाँको भनाइ छ ।

सम्मेलनमा जिल्लाको साङ्गठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन, वार्षिक नीति तथा कार्यक्रमको प्रस्तुतीकरणसँगै प्रजातन्त्र सेनानीहरू, सहिद परिवार तथा जनआन्दोलन र जनयुद्धका घाइतेहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी कांग्रेसको महासमिति बैठकमा पेस गर्नका लागि जिल्ला सम्मेलनले राजनीतिक प्रस्ताव पास गर्ने तथा नमुना सदरमुकाम, जिल्लाको नाम तथा जिल्लाको समग्र विकास निर्माण तथा जनजीविकाको विषयमा धारणा तय गरेर सङ्घ र प्रदेश सरकारलाई पठाइने जिसीले बताउनुभयो ।

सम्मेलनको उद्घाटन सत्रमा जिल्ला भरिका पार्टी कार्यकर्ता तथा आम सर्वसाधारणको उपस्थित रहने र बन्द सत्रमा जिल्ला भरिका ९२ वडाका एक हजार नौ सय ७२ प्रतिनिधि सहभागी हुने सभापति जिसीले जानकारी दिनुभयो ।