क्यानबेरा, मङ्सिर ९ गते । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले महिला र बालबालिकाविरुद्ध हुने हिंसा अन्त्य गर्न अष्ट्रेलियाली पुरुषहरूलाई आह्वान गर्नुभएको छ ।
शनिबार महिलाविरुद्धको हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसको अवसरमा जारी गरिएको विज्ञप्तिमा अल्बानीजले अष्ट्रेलियाको घरेलु हिंसा न्यूनीकरण गर्न तत्काल कदम चाल्न आवश्यक रहेको बताउनु भएको छ ।
अस्ट्रेलियन इन्स्टिच्युट अफ क्रिमिनोलजीको नेशनल होमिसाइड मोनिटरिङ प्रोग्राम (एनएचएमपी) का अनुसार अस्ट्रेलियामा हत्याको सिकार हुने वयस्क महिलामध्ये ६० प्रतिशतको हत्या हालको वा पूर्व घनिष्ठ साथीबाट हुने गरेको पाइएको छ ।
सन् २०२०–२१ मा अष्ट्रेलियामा हरेक १४ दिनमा एकजना महिलाको हत्या हालको वा भूतपूर्व निकट साथीद्वारा हुने गरेको देखिन्छ । ”असमानता र भेदभावलाई उत्प्रेरित गर्ने र महिलाहरूलाई आपत्तिजनक बनाउने र सहमतिलाई बेवास्ता गर्ने दृष्टिकोणलाई परिवर्तन गर्नु सबैको जिम्मेवारी हो,” अल्बानीज भन्नुभएको छ ।
विशेषगरी पुरुषहरू माथि उठ्नुपर्छ । पुरुष नेताहरूसँग परिवर्तनलाई स्वीकार गर्ने र हिंसा, दुर्व्यवहार, भेदभाव र उत्पीडनलाई रोक्ने अवस्था सिर्जना गर्ने अवसर छ” उहाँले भन्नुभयो ।
सरकारले शनिबार आत्मीय साझेदार हत्याका बारेमा त्रैमासिक अद्यावधिक तथ्याङ्क उपलब्ध गराउन नयाँ प्रणाली स्थापना गर्ने प्रतिबद्धता जनाएको छ । हाल सो कार्यक्रमबाट वार्षिक आधारमा तथ्याङ्क उपलब्ध भए तापनि महिलाविरुद्ध हिंसा अन्त्य गर्न अधिकारीहरूले यसलाई सही रूपमा मापन गर्न सक्षम हुनुपर्ने उहाँको धारणा छ ।
‘‘महिला मन्त्री केटी गालाघर र सामाजिक सेवा मन्त्री अमान्डा रिसवर्थले नयाँ प्रणालीले कानुन प्रवर्तन, नीति निर्माताहरूलाई सक्रिय पार्दै घरेलु र यौन हिंसा रोक्न सक्षम बन्नुपर्छ । हिंसा अन्त्य गर्न र महिलाको सुरक्षा सुनिश्चित गर्ने हाम्रो प्रयासमा हामीलाई सहयोग गर्नको लागि मिति र सही तथ्याङ्क महत्त्वपूर्ण छ,” गालाघरले भन्नुभयो ।
सरकारले सन् २०२२–२०३२ सम्ममा महिला तथा बालबालिकाविरुद्धको हिंसा अन्त्य गर्ने राष्ट्रिय योजनामा मे महिनासम्म २.२८ बिलियन अष्ट्रेलियाली डलर (१.५ बिलियन अमेरिकी डलर) लगानी गरेको थियो । रासस/सिन्ह्वा