• २७ वैशाख २०८२, शनिबार

जसपाका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुने

blog

फाइल तस्बिर

काठमाडौँ, मङ्सिर ९ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आज प्रदेश र राष्ट्रिय समिति पुनः गठन गर्न लागेको छ । गण्डकी प्रदेश समिति र पहिचानका समिति मध्येको लिम्बुवान राष्ट्रिय समिति आज पुनः गठन गर्न लागिएको पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो । 

उहाँका अनुसार पार्टीले सञ्चालन गरेको तीन महिने पार्टी विस्तार तथा सुदृढीकरण अभियान अन्तर्गत सङ्गठन गठन, पुनः गठन तथा रूपान्तरणको कार्यअन्तर्गत बाँकी रहेका प्रदेश र राष्ट्रिय समिति पुनः गठन हुन लागेको हो । 

यसै गरी पोखरामा हुन लागेको गण्डकी प्रदेश समिति पुनः गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवम् गण्डकी प्रदेश समिति इन्चार्ज शिवलाल थापामगर र पाँचथरको फिदिममा हुन लागेको लिम्बुवान राष्ट्रिय समिति पुनः गठनमा पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य रकम चेम्जोङ प्रमुख अतिथि रहनुहुने केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताउनुभयो । रासस