• १२ मंसिर २०८१, बुधबार

माउन्टेन क्रस कन्ट्री दौड सुरु

blog

पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा सुरु भएको पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड । तस्बिर : फडिन्द्र अधिकारी

फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ९ गते ।
 पोखरा नेपाल माउण्टेन क्रस कन्ट्री दौड शनिबार बिहान सुरु भएको छ । पोखरा महानगरपालिका, चिनियाँ राजदूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको उक्त प्रतियोगिता गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र चिनियाँ राजदूत छन् सङले सुरुआत गर्नुभयो ।

प्रतियोगितामा सामूहिक, व्यक्तिगत प्रतिस्पर्धासँगै ह्याप्पी रन र विद्यार्थी दौड गरी चार विधामा प्रतिस्पर्धा भएको छ । सामूहिक प्रतिस्पर्धामा ४२ जना, व्यक्तिगत प्रतिस्पर्धामा ७६ र विद्यार्थी दौडमा चार सय ३० भन्दाबढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा सहभागी हुन चीनको कुनमिङबाट खेलाडी र अफिसियल गरी ९५ जना चार्टर विमानमार्फत पोखरा आएका छन् । चिनियाँ राजदूत छन् सङले प्रतियोगिताले चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उल्लेख गर्नुभयो । अन्नपूर्ण र फेवाताल किनारको यो दौडले नेपाल र चीनको मित्रतालाई थप प्रगाढ बनाउने उहाँको अपेक्षा छ ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रतियोगिताले पोखरालाई देशविदेशमा चिनाउन र खेल पर्यटनको विकासमा समेत सघाउने विश्वास व्यक्त गर्नुभयो । “यस प्रकारको दौड प्रतियोगिताले खेल र पर्यटन क्षेत्रको विकासमा उत्तिकै योगदान पुग्नेछ । कोरला नाका खुलेको छ, अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ,” उहाँ भन्नुहुन्छ, “यस खालका गतिविधिले पोखराको प्रवर्द्धन र खेलकुद विकास दुवै क्षेत्रमा टेवा पुग्छ ।”

दौड, साइक्लिङ र डुङ्गा दौड गरेर ४० किलोमिटर दूरी धावकले पार गरेपछि विजेता चयन गरिनेछ । सामूहिक विधातर्फको विजेताले तीन लाख ६० हजार रुपियाँ पुरस्कार पाउनेछन् । द्वितीयले दुई लाख ८८ हजार, तृतीयले दुई लाख १६ हजार र चौथो स्थान प्राप्त गर्नेले १ लाख ४४ हजार रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

व्यक्तिगततर्फ ३८ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विजेता महिला, पुरुषले जनही एक लाख ४४ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । उपविजेताले एक लाख ८ हजार, तृतीयले ५४ हजार र चौथोदेखि सातौँसम्मको १८ हजार र दसौँसम्मका धावकले नौ हजार रुपियाँ पुरस्कार पाउने छन् । लेकसाइडको बाराहीघाटबाट सुरु भएर बिरौटा, फ्रुसेखोला, रामदी, उल्लेरी, भुम्दी, लुकुनस्वाँरा, लिचीबोट हुँदै बाराहीघाटमै आएर समापन हुनेछ ।

५ किलोमिटरको विद्यार्थी दौड प्रतियोगिताका विजेता छात्र–छात्राले जनही २५ हजार, द्वितीयले २० हजार, तृतीयले १५ हजार, सान्त्वनाले १० हजार र पाँचौँले ५ हजार रुपियाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ ।