• ९ असार २०८१, आइतबार

शोकमा उर्लाबारी

blog

काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएका उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्की । तस्बिर : हरि कोइराला

हरि कोइराला
उर्लाबारी, मङ्सिर ९ गते । 
मोरङको उर्लाबारी शोकमा डुबेको छ । गत कात्तिक २६ गते उर्लाबारी–७ को स्नेहा सुनचाँदी पसलमा मध्यरातमा भएको आगलागी नियन्त्रण प्रयासमा पुगेका स्थानीयहरूको एकपछि अर्कोको ज्यान गएपछि उर्लाबारी शोकमा डुबेको हो  ।

आगलागी नियन्त्रण प्रयासमा घाइते भएका चार प्रहरीसहित २८ मध्ये चार जनाको मृत्यु भइसकेको छ । उर्लाबारी–७ का ६८ वर्षीय रुकुमबहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान ५ बजे काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।  कार्कीको शरीरको ४० प्रतिशत भाग जलेको थियो ।

घरधनी कार्कीको मृत्युसँगै आगलागीमा परी ज्यान गुमाउनेको सङ्ख्या चार पुगेको छ । गत मङ्गलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो । उहाँको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो । त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो । उहाँको शरीरको ५० प्रतिशत भाग जलेको थियो ।

अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो । तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।