बाबुराम कार्की
वराहक्षेत्र, मङ्सिर ९ गते । सप्तकोशी नदीको पूर्वी तटबन्धमा वर्षामा पानीको बहाव रोक्न लगाइएका ‘प्रोकोपाइन’ (त्रिखुट्टी) हराउन थालेका छन् । पानीको बहावबाट पूर्वी तटबन्ध सुरक्षित राख्न हरेक वर्षायाममा कोशीको पूर्वी किनारमा ‘प्रोकोपाइन’ लगाउने गरिएको छ ।
भारतीय जलसाधन विभागले प्रत्येक वर्ष जोखिमपूर्ण स्थानमा ‘प्रोकोपाइन’ लगाउँदै आएको छ । वर्षा सकिएसँगै कोशी किनारमा लगाइएका ‘प्रोकोपाइन’ को सुरक्षा र हेरचाह नहुँदा चोरी हुन थालेको र यसले बाढीको जोखिम बढाएको छ ।
वराहक्षेत्र नगरपालिका–१० का वडाध्यक्ष तेजबहादुर गुरुङले भन्नुभयो, “प्रत्येक वर्ष कोशी किनारमा राखिएका त्रिखुट्टी हराउने गरेका छन् । यी त्रिखुट्टी नचोरिने हो भने कोशी फुट्ने डर हुँदैनथ्यो ।”
यी ‘प्रोकोपाइन’ मा लगाइएको नट बल्टु नै खोलेर चोरी हुने गरेको छ । बुधबार राति मात्रै सिटी सफारीमा राखेर १७ थान पिल्लर चोरी हुँदै गर्दा प्रहरी चौकी, प्रकाशपुरले फेला पारेको थियो ।
तटबन्ध सुरक्षित राख्न बर्सेनि भारतीय जलसाधन विभागले ‘प्रोकोपाइन’ लगाउने भए पनि त्यसको संरक्षण नहुँदा धेरै जसो ‘प्रोकोपाइन’ पिल्लर चोरी हुने गरेको वडाध्यक्ष गुरुङले बताउनुभयो । स्थानीयका अनुसार चोरी भएका पिल्लर प्रतिगोटा छ सयदेखि आठ सय रुपियाँमा बिक्री हुने गरेको बताइन्छ । तस्करले नदी किनारमा ‘प्रोकोपाइन’ लगाएकै अवस्थामा साँझबिहान पारेर बेल्चाको सहायताले पानीभित्रको भाग खनी ‘प्रोकोपाइन’ लडाएर तस्करी गर्ने गरेका छन् ।
के हो ‘प्रोकोपाइन’
नदी किनारको तटबन्ध जोगाउन र पानीको बहाव रोक्न बालुवा, गिटी, सिमेन्ट र रड प्रयोग गरी बनाइएको तीन वटा पिल्लरलाई त्रिभुज आकारमा नटबल्टुले कसेर बनाएको त्रिखुट्टी नै ‘प्रोकोपाइन’ हो । ‘प्रोकोपाइन’ लहरै हालेर बाँस अड्काएपछि बालुवा, गिटी, ढुङ्गा (ग्रेगर)
‘प्रोकोपाइन’ मुनि थिग्रिन्छ र तटबन्ध क्षति हुन दिँदैन ।
कोशीमा पानीको वेग रोक्न ‘प्रोकोपाइन’ लगाउने गरिएको छ । छ वटा चार बाई चारको १० फिटे पिल्लरको एक सेट हुन्छ । एउटा पिल्लरमा तीन बाई तीनको चारवटा फलामको रड र २१ वटा फलामको चुरी तारमा सिमेन्ट, बालुवा र गिट्टी लगाइएको हुन्छ । यसले पानीको वेगलाई रोकी कटान हुनबाट जोगाउने गरेको कोशी तटबन्धमा लामो समय काम गर्दै आएका स्थानीय ठेकेदार मोहन मण्डलले बताउनुभयो ।
पूर्वी किनारमा केही वर्षदेखि पानीको बहाव ठोकिएर तटबन्धलाई जोखिम बनाउन थालेपछि भारतीय जलसाधन विभागले ‘प्रोकोपाइन’ लगाउँदै आएको छ । ‘प्रोकोपाइन’ को सुरक्षा र हेरविचार नहुँदा दैनिक रूपमा चोरी भइरहेको छ ।
कोशी नदीको पूर्वी किनारमा लगाइएका त्रिखुट्टी वराहक्षेत्र–९ को धरहरा टपन, कौवाटोली, वराहक्षेत्र–६ को सिसौली घाटलगायत कोशी किनार क्षेत्रको आसपासका क्षेत्रबाट तस्करी हुने गरेको छ । सम्बन्धित निकाय र स्थानीयवासीले त्यस्ता चोरलाई निगारानी गर्नुपर्ने बेला आएको वराहक्षेत्र–१० का वडाध्यक्ष तेजबहादुर गुरुङ्ले बताउनुभयो ।
‘प्रोकोपाइन’ संरक्षण गर्न सके कोशी कोरिडोर आसपास क्षेत्रमा बसोबास गर्ने बासिन्दा कोशी नदीकै त्रासमा बाँच्नुपर्ने थिएन,” उहाँले भन्नुभयो ।
राजावास सबडिभिजनले स्परलाई थप बलियो बनाउन यस वर्ष सात हजारवटा पिल्लर ‘प्रोकोपाइन’ लगाएको थियो । चक्रघट्टी सबडिभिजनले यस वर्ष झन्डै १५ हजार ‘प्रोकोपाइन’ पिल्लर लगाएको स्थानीय ठेकेदार मोहन मण्डलले जानकारी दिनुभयो ।