• २ जेठ २०८१, बुधबार

हेलम्बुमा १५ शय्याको अस्पताल निर्माण

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, मङ्सिर ९ गते । सिन्धुपाल्चोकको विकट ठाउँ हेलम्बुमा १५ शय्याको अस्पताल भवनको निर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सङ्घीय सरकारको ‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ निर्माण योजना अनुरूप हेलम्बुमा अस्पताल निर्माणको काम अन्तिम चरणमा पुगेको उक्त गाउँपालिकाका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिनुभयो । साढे तीनतले उक्त अस्पताल १९ करोड ४३ लाख रुपियाँमा निर्माण भइरहेको हो । यो अस्पतालको गत पुस १ गते अध्यक्ष शेर्पाले शिलान्यास गर्नुभएको थियो । अस्पतालका झ्यालढोका, भित्री काम र फिनिसिङ, रङरोगनलगायतका काम चार महिनाभित्र सकेर अस्पताल गाउँपालिकालाई हस्तान्तरण गर्ने योजना रहेको ठेकेदार कम्पनीले जनाएको छ । 

अस्पताल निर्माण सम्पन्न भएपछि हेलम्बु गाउँपालिकालगायत पाँचपोखरी थाङपाल गाउँपालिका, मेलम्ची नगरपालिका, इन्द्रावती गाउँपालिकाका बासिन्दाले स्वास्थ्य सेवा पाउने अध्यक्ष शेर्पाले बताउनुभयो । यस क्षेत्रमै अस्पताल नहुँदा स्थानीयवासी धुलिखेल, बनेपा र काठमाडौँ उपत्यकाका अस्पतालमा उपचारका लागि धाउनुपर्ने बाध्यता छ । हेलम्बु गाउँपालिकाले एम्बुलेन्स सेवा तथा दीर्घरोगी, गर्भवती, सुत्केरीलाई निःशुल्क औषधी दिँदै आइरहेको छ । एउटै दीर्घरोगीले महिनामा ५० देखि ६० हजार रुपियाँसम्मको औषधी निःशुल्क पाइरहेको अध्यक्ष शेर्पाले बताउनुभयो । यस्तै घर घरमा स्वास्थ्यकर्मी पठाएर सुत्केरी आमा र शिशुको स्वास्थ्य परीक्षण र उपचार निःशुल्क गर्दै आएको छ । एक आर्थिक वर्षमा एक करोड रुपियाँभन्दा बढीको औषधी खरिद गरी हेलम्बु गाउँपालिकाले दीर्घरोगी, बिरामीलाई निःशुल्क वितरण गरिरहेको जनाइएको छ ।