• ९ जेठ २०८१, बुधबार

थाहा फिल्म फेस्टिभलमा आजदेखि सुरु

blog

राममणि दाहाल

हेटौँडा, मङ्सिर ९ गते । मकवानपुरको थाहा नगरमा शनिवारबाट थाहा फिल्म फेस्टिभल–२०२३ सुरु हुँदै छ । पर्यटनका लागि फिल्म फेस्टिभल भन्ने नाराका थाहा कला केन्द्रको आयोजनामा हुने एक हप्ते थाहा फिल्म फेस्टिभल–२०२३ को सम्पूर्ण तयारी पूरा भएको थाहा फिल्म फेस्टिभल–२०२३ आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो । 

फेस्टिभलको शनिवार बागमती प्रदेशका उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री रामकृष्ण चित्रकारले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । आगामी शुक्रवारसम्म सञ्चालन हुने थाहा फिल्म फेस्टिभल–२०२३ बागमती प्रदेशको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको सहयोगमा आयोजना गरिएको हो । 

फिल्म फेस्टिभलमा चलचित्र, लघु चलचित्र र वृत्त चित्र प्रदर्शनी गर्ने कार्यक्रम रहेको संयोजक जोशीले जानकारी दिनुभयो । फेस्टिभलमा छ वटा चलचित्र, १६ वटा लघु चलचित्र र छ वटा वृत्तचित्र प्रदर्शनी गरिने भएको छ । डेसान, बुलबुल, ऐन झ्यालको पुतली, राधा, प्रकाश र आमा खाण्डोको प्रदर्शनी गरिने भएको हो । 

फिल्म फेस्टिभलका अवसरमा पहिलो दिन शनिवार थाहा नगरको पर्यटन प्रवर्धन लागि बनाइएका वृत्तचित्र प्रदर्शनी गरिने भएको छ ।  यस्तै सो अवधिमा चलचित्र निर्माता, निर्देशक, कलाकारलगायतको सहभागितामा थाहा नगरभित्रका महत्त्वपूर्ण पर्यटकीय क्षेत्रको अवलोकन भ्रमण गराइने भएको छ ।