• १४ फागुन २०८०, सोमबार

भक्तपुर : नजाने गाउँको बाटो

blog

भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडेल सिकाइको के अर्थ ? भक्तपुरको मोडेल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगति र उन्नति सम्भव 

छ ? भक्तपुरको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसाङ्ख्यिक तस्बिर एवं प्राकृतिक भूबनोटको आधार र अन्य स्थानीय पालिकाको बनोट नै मिल्दैन । यी सबै प्रश्नको सहज उत्तर हुन्छ, भक्तपुरबाट सिक्दै निसिक्ने । नजाने गाउँको बाटो नसोध्ने ।

मुलुकका ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकालाई यो लेखोटमा छान्नु पर्ने अर्थपूर्ण अर्थ छ । बाँकी ७५२ स्थानीय तह कसरी सञ्चालनमा आएका छन्, पहिलो कार्यकाल ‘देखी, सुनी जान्नेका लागि’ भनिरहनु पर्ने विषय रहेन । दोस्रो वा चालु कार्यकालको समग्र मूल्याङ्कन गर्ने बेला भइसकेको छैन । यद्यपि दोस्रो कार्यकालमा केही स्वतन्त्रले नेतृत्व गरेका बाहेकका पालिका सञ्चालनको ढङ्ग उही छ, जो विगतकाले गरेका थिए । यसर्थ यहाँ भक्तपुर नगरपालिकाले देखाएको बाटो सानो आँखी झ्यालबाट चिहाउने प्रयास गरिने छ ।

सञ्चार माध्यममा भक्तपुर 

नेपाली सञ्चार माध्यममा भक्तपुरको अनुकरणीय समाचार पढ्न, सुन्न र देख्न पाइन्छ । छापा, विद्युतीय र नयाँ सञ्चार माध्यममा भक्तपुर नपाले गरेका कार्यव्रmमको सराहना गरिएको एक से बढकर एक समाचार प्रकाशित/प्रसारित छन् । भक्तपुरको नीति, योजना तथा कार्यव्रmम, विकास र प्रगतिको मुक्तकण्ठले प्रशंसा गरिएको मात्रै भेटिन्छ । पहिलो कार्यकालको उच्च मूल्याङ्कन सबै मुख्य समाचार माध्यमले गरेका छन् । पालिकाले प्रकाशित गरेको पुस्तक ‘सञ्चार माध्यममा भक्तपुर नपा’ मा अभिलेख गरिएको पत्रकारको कलम हेरे काफी हुन्छ । मूलधारका भनिएका छापा, नयाँ मिडियामा शिक्षा, स्वास्थ्य र कला–संस्कृतिको मोडेल भक्तपुरलाई सम्मान गरिएको छ । सरसफाइ, स्वास्थ्य, शिक्षा, सम्पदा संरक्षण र पुनर्निर्माणमा भक्तपुर नपाले मोडल प्रस्तुत गरेको आँखो देखा हाल पढ्न पाइन्छ । नगर पालिकाले प्रकाशित गरेको ‘भक्तपुर नगरपालिकाको पाँच वर्ष’ पुस्तकले त सचित्र वर्णन नै गरेको छ । यस्तो लाग्छ यी पुस्तक हेरेपछि भक्तपुरको दृश्य आँखाको पर्दामै आइपुग्छ ।

भक्तपुर नगरको नेतृत्व गर्दै आएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले स्थानीय तह निर्वाचन–२०७४ मा ‘भक्तपुर नपाका लागि घोषणा पत्र’ प्रकाशित गरेको रहेछ । १० वटा सङ्क्षेप बुँदामा व्यवस्थित घोषणा पत्रको मूल नीति, योजना तथा कार्यव्रmम भक्तपुरको तत्कालिक एवं भावी योजना हो । शिक्षा, स्वास्थ्य, उद्योग र रोजगारी, कला–संस्कृति र पर्यटन, वातावरण, यातायात, खेलकुद, नगर प्रशासन, भूकम्प र विपत् व्यवस्थापन, कृषि तथा जनजीविका नगरको विषयगत योजना हो । यसै प्रसङ्गमा नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले ‘सय वर्षपछिको भक्तपुर (०५९)’ पुस्तक नै प्रकाशित गरे । भक्तपुरको योजनाबद्ध विकासको खाका यही पुस्तकमार्फत खिचिएको नगरका वर्तमान नगरप्रमुख सुनिल प्रजापतिसहित अन्य जनप्रतिनिधिको विश्वास छ । 

संविधान अनुसार यसअघि निर्वाचित पहिलो नगर सरकारले पहिलो पटक योजनाबद्ध विकास गर्ने स्वायत्तता पायो । हुन त यस्तो अधिकार र अवसर बाँकी पालिकाले पनि पाएकै छन् तर अन्य पालिकाले यस्तो अधिकार र अवसर उपयोग गर्न चुके, कतिपय मामिलामा अख्तियारको दुरुपयोग गरे । आर्थिक अनियमितता, भ्रष्टाचार, अनाधिकृत प्राकृतिक दोहन मामिलामा कठघरामा पुगे । आज गाउँको सिंहदरबार बदनाम भएका छन् । यस्तो क्रियाकलापमा डुबेका पालिकाका प्रतिनिधिका लागि भक्तपुर पाइला सार्नै नहुने गाउँको बाटो हो ।

स्वास्थ्य नै धन 

स्वास्थ्य नै धन हो । संसारका सबै भाषा र विचारमा यो श्वासत या ‘ब्रह्म’ वाक्य नै हो । स्वस्थ रहन सरसफाइ पहिलो सर्त हो । काठमाडौँ उपत्यकामा फोहोर व्यवस्थापन खपिनसक्नु मुद्दा हो । भक्तपुरले फोहोरलाई रूपान्तर गरेर मोहोर आर्जन गर्दै आएको छ । फोहोरबाट कम्पोस्ट मल उत्पादन गरेर किसानलाई सुलभ दरमा वितरण गरिरहेको छ । फोहोरबाट बायो ऊर्जा उत्पादन गर्ने लक्ष्यको नजिक छ । 

जनताको स्वास्थ्य जनसरोकारको विषय कम राष्ट्रिय व्यापार धन्दाको विषय बढी बन्दै गएको छ । नेपालका प्रत्येक साना ठुला सहरका प्रायः गल्लीमा निजी अस्पतालको सटर खुलेका छन् । जुन देशमा उद्योगधन्दा भन्दा बढी अस्पताल हुन्छन् त्यो देश निरोगी र सम्पन्न हुने त कुरै भएन । यस्तो परिस्थितिमा जनता झन्झन् गरिबीको रेखामुनि जाने पक्कै हो । राज्यको दायित्वभित्र स्वास्थ्य प्राथमिकतामा नपरेको विषम परिस्थिति खप्नुको विकल्प छैन । 

राज्यको सानो दायित्व पूरा गर्न भक्तपुर नपाले आफ्नै बलबुतामा भगीरथ प्रयास गरिरहेको छ । विशेषज्ञ सेवासहित एक सय बेडको ख्वप अस्पताल, घरदैलो स्वास्थ्य सेवा, आँखा उपचार केन्द्र, शिशु स्याहार केन्द्र, आयुर्वेद स्वास्थ्य उपचार केन्द्रलगायतका सेवा नगरवासीमा उपलब्ध गराउँदै आएको छ । कोभिड महामारीमा कोभिड अस्पतालको व्यवस्थापन, अक्सिजन प्लान्टको स्थापना र अक्सिजन निःशुल्क वितरण गरेर जनताप्रतिको स्थानीय सरकारको दायित्व पूरा गर्ने प्रशंसनीय काम गरेको जगजाहेर छ । यस्तो दायित्व पूरा गर्दा नपा आँखाको तारो अवश्य हुन्छ । यसैले मेडिकल कलेज स्थापना गर्ने भक्तपुर नपाको चाहना साकार हुन सकेको छैन । दलाल पुँजीवादको पराकाष्ठा कथित आर्थिक उदारीकरणको माखे साङ्लोमा परेको राज्य र त्यसका अधिकांश पालिकाका प्रतिनिधिले उम्कने या विद्रोह गर्ने प्रयास नगर्नु लाचारी हो । अतः यस्ता लाचार छायाँले भक्तपुर जाने बाटो किन खोज्ने ?

सामाजिक बुद्धिजीवीकरणमा शिक्षा 

शिक्षा मानव मूल्यको तेस्रो आँखा हो । महान् दार्शनिक सुकरातले ‘प्रत्येक मानिसको मष्तिष्कमा अदृश्य रूपले विद्यमान संसारको त्यो सर्वमान्य विचारमा ल्याउनु शिक्षा हो’ भनेका छन् । नेल्सन मण्डेलाले शिक्षालाई संसार बदल्ने हतियारको रूपमा अथ्र्याएका छन् । भक्तपुर नपाले शिक्षालाई यसै अनुरूप २० वर्षदेखि निरन्तर महत्व दिएको छ । सबैभन्दा महत्वपूर्ण त ‘सामाजिक बुद्धिजीवीकरण’ गर्ने शब्द ‘क्वाइन’ गरेको छ । यो शब्दको अन्तर्य आफैँमा गम्भीर र विराट छ ।

देशका बाँकी कुनै पालिकाले शिक्षालाई भक्तपुरले झैँ बुझ्नेसम्म कष्ट गरेको छैन । यो नपाले सात वटा शैक्षिक संस्थामार्फत सुलभ र गुणस्तरीय शिक्षाको बन्दोबस्त गरेको छ । यसमध्ये दुई वटा ख्वप इन्जिनियरिङ कलेजमार्फत उच्च प्राविधिक जनशक्ति दीक्षित बनाइरहेको छ । यसरी नै बहुप्राविधिक शिक्षालय, नर्सिङ कलेज र मानविकी तथा सामाजिकीशास्त्रका अनेक विषयगत शिक्षण, विदेशी भाषा तालिम, स्थानीय शैक्षिक पाठ्यव्रmमलाई पनि महत्वका साथ पठनपाठनको संस्थागत विकास गरेको छ । शिक्षण संस्थाको विकास र अध्ययन अध्यापनमा मात्रै नपाले बर्सेनि ४० करोड खर्च गर्दै आएको उल्लेख छ । विडम्बना भक्तपुर नपाको पहिलो कार्यकाल (०७४) मै प्रस्ताव गरेको सामाजिक बुद्धिजीवीकरण गर्ने प्रस्तावलाई तुहाउन सङ्घीय सरकारले कुनै कसर बाँकी राखेको छैन । सामाजिक बुद्धिजीवीकरणका लागि प्रस्तावित ख्वप विश्वविद्यालयको प्रस्तावलाई त्यसयता बनेका कुनै पनि सरकारले स्वीकृति दिने आँट गरेको छैन । सामाजिक बुद्धिजीवीकरण गर्ने भक्तपुरको बाटो यसकारण तीनले सोच्नसम्म सक्तैनन् ।

योजनाबद्ध जनसहभागिता 

यतिखेर कतिपय स्थानीय सरकारको नेतृत्वले लोकरिझ्याइँ र स्टन्टबाजीका लागि जनश्रमदानको ‘टेलर’ देखाएका छन् । कुनै योजनाविहीन दीर्घकालीन एवं स्थायी परिणामको ख्यालै नगरी श्रम संस्कृतिको हौवा प्रदर्शित गरेका छन् । भक्तपुरले भूकम्पले क्षतविक्षत सांस्कृतिक सम्पदाको जिर्णोद्वार, पुनर्निर्माणमा योजनाबद्ध जनसहभागिता र जनश्रमदान जुटाएर सम्पन्न गरेको छ । यसरी विविध क्षेत्रका १२४ वटा योजनाले सम्पन्नताको प्रमाण पत्र पाएका छन् । जनसहभागितामै दुई वटा आवास क्षेत्रको निर्माण सम्पन्न हुने क्रममा छ । उपभोक्ता समितिमार्फत निर्माणको उच्चतम नमुना नपाले सफल अभ्यास गर्दै आएको छ । योजना बेगर लोकरिझ्याइँको नाटक प्रदर्शन गर्नेका लागि भक्तपुरको बाटो सोझिँदैन ।

गैसस निषेधित नगर 

नेपालका दूरदराजका गाउँमा पनि गैरसरकारी संस्था (गैसस वा एनजिओ) नपुगेको ठाउँ छैन तर राजधानी नजिकको भक्तपुर जाने बाटोमा तिनलाई तगारो हालिएको छ । कथित विकास र चेतनाको ख्याली पुलाउ पकाएर आफ्नै रोजीरोटी सेक्ने कथित सामाजिक संस्था भक्तपुर प्रवेशमा निषेधित छ । नेपालको विकासमा गैससको काम छैन भन्ने यो गतिलो उदाहरण हो । सम्पदा निर्माणमा जर्मन सरकारको एक अर्ब २० करोड अनुदान सम्पदाको विद्रुपीकरण गर्ने प्रस्तावका कारण नपाले अस्वीकृत ग¥यो । पछि सम्पदा भक्तपुरवासीले आफ्नै बलबुतामा निर्माण गरी छाडे । यस्तो आँट देखाउने नपाले चारो छर्ने र स्वाभिमान गिराउने गैससलाई अनुमति नदिनु अनौठो भएन । गैससका लागि त भक्तपुरको बाटो सोध्नै नहुने बाटो भो ।

बत्तीमुनि अँध्यारो 

परम्परागत भनाइ अनुसार बत्तीमुनि अँध्यारो हुन्छ । यो भनाइ विद्युत् उत्पादन हुनुभन्दा अघिको भनाइ हो । परम्परागत अवस्थामा बत्तीमुनि प्रकाश दिन सक्दैनथ्यो । विद्युत्ले सबैतिर प्रकाश दिन्छ तर यहाँ पुरानै भनाइ लागु भएको छ । भक्तपुरका छिमेकी पालिकाले भक्तपुरबाट सिक्ने प्रयत्न बिल्कुलै गरेको छैन । भक्तपुरको प्रकाशको कुनै प्रभाव त्यहाँ छैन । छिमेकी पालिकाले नै भक्तपुरको बाटो हिँड्नु छैन भने टाढाका परदेशी पालिकाले भक्तपुरको बाटो मोडिनुको के अर्थ हुन्छ र ?

संवैधानिक व्यवस्था 

नयाँ संविधानले राज्यको सङ्घीय संरचना अनुसार सङघ, प्रदेश र स्थानीय तहको व्यवस्था गरेको छ । संविधानको अनुसूची ८ अनुसार स्थानीय तहको एकल अधिकारको सूची २२ बुँदामा व्यवस्थित छ । यसरी नै अनुसूची ९ मा तीनै तहको साझा अधिकारको सूची छ । स्थानीय सरकार सञ्चलानार्थ ‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४’ सहित एक दर्जन विषयगत दिग्दर्शन तथा नियमावली पनि व्यवस्था गरिएको छ ।

अनुसूची ८ अनुसार स्थानीय तहको २२ बुँदे एकल अधिकारको भरपुर उपयोग गर्न भक्तपुर नपाले २२ वटै ऐन परिमार्जनसहित पारित गरेको छ । दर्जनौँ नियमावली, निर्देशिका, कार्यविधि व्यवस्थित गरेको छ । सम्भवतः अनुसूची अनुसार अन्य पालिकाले ढङ्ग नपु¥याएको परिणामले देखाउँछ । संवैधानिक दायराभित्र रहेर अधिकारको अधिकतम उपयोग गर्दा भक्तपुर जस्तो सफा, सुन्दर, स्वस्थ्य, शैक्षिक क्षेत्र उन्मुख नगर बन्छ भन्ने यो प्रतिनिधि उदाहरण हो । यस्तो सुन्दर उदाहरण अनुकरण गर्नु बाँकी पालिकाका प्रतिनिधिलाई यो जुनीमा असम्भव भए झैँ लाग्ला । यसर्थ भक्तपुरको असहज बाटो किन लम्किने ?

सूचना सञ्चारमा भक्तपुर 

नपाको सूचना प्राप्त गर्ने सबै माध्यममा सबैको पहुँच पुग्छ । सञ्चारका छापा, रेडियो, टिभी, अनलाइन र सामाजिक सञ्जाललाई नपाले उपयोगमा ल्याएको छ । भक्तपुर मासिक पत्रिका, ख्वप पौ पाक्षिक पत्रिका, ख्वप सः (रेडियो कार्यव्रmम), ख्वप टिभी, भक्तपुर डटकम (अनलाइन) तथा भक्तपुर म्युनिसिपिलिटी फेसबुक पेज छन् । एक दर्जन पुस्तक प्रकाशित छन् । यी माध्यममार्फत नपाको सूचना समाचार आमसाधारणको सहज पहुँचमा छ । यस प्रकारको व्यवस्थित सञ्चार प्रणाली अन्य पालिकाको देखिन्न । पारदर्शिता र जवाफदेहिताको यो नमुना हो । यही जवाफदेहिताबाट भाग्न अन्य पालिकाले यो सब गरेका छैनन् । यसैले भक्तपुरको बाटो फुटेको आँखाले पनि हेर्दैनन् ।

पालिका सानो कुरा ठुलो 

भक्तपुर नगरपालिकाको कुल क्षेत्रफल ६.८८९ वर्ग किमी मात्र छ । भक्तपुरका छिमेकी नपाहरू सूर्य विनायक, मध्यपुर थिमी, चाँगुनारायणभन्दा पनि क्षेत्रफलको हिसाबले असाध्यै सानो छ । पूर्व पश्चिम ४.५ किमी र उत्तर दक्षिण १.५ किमीमा फैलिएको भक्तपुर क्षेत्रफलको हिसाबले देशकै सबैभन्दा सानो पालिका पनि हो । जनसाङ्ख्यिक हिसाब पनि करिब एक लाख मात्र छ । भक्तपुरको महìवाकाङ्क्षा बेजोड ठुलो छ । घोषणापत्र अनुसार शिक्षा, स्वास्थ्य, उद्योग, रोजगारी, कलासंस्कृति, पर्यटन, वातावरण, यातायात, खेलकुद, नगर प्रशासन, कृषि तथा जनजीविका मामिलामा सफलता प्राप्त ग¥यो भने वर्तमानको भक्तपुर भविष्यको ‘भेटिकन भक्तपुर’ बन्ने कल्पना गर्न सकिन्छ । चिनियाँ आकाशमुनिको सम्पन्न गाउँ ‘ह्वासी भिलेज’ जस्तै विकसित हुन सक्छ । भक्तपुरको  पुरातात्त्विक सांस्कृतिक धरोहर त छँदै छ । जल सम्पदाले त्यत्तिकै सुन्दर बनाएको छ । भ्रष्ट, अनियमितताका अनुयायी, लाचार, सिद्धान्तच्युत दल र तीनका प्रतिनिधिलाई भविष्यको ‘भेटिकन भक्तपुर’ को बाटो नजाने गाउँ नै हो ।

जेठो पालिका श्रेष्ठ सोच 

भक्तपुर १२ औँ देखि १५ औँ शताब्दीसम्म नेपाल (उपत्यका) को राजधानी थियो । किरातकालीन समयमै स्थापित यो सभ्यताको नगर हो । १८ औँ शताब्दीसम्म स्वतन्त्र राज्यको रूपमा स्थापित ‘भादगाउँ’ (भक्तपुर) को लिच्छवि र मल्लकालमा सांस्कृतिक वैभवको विकास भयो । राजा मानदेवको अभिलेख अनुसार नेपाल भाषाको खोपाङ, खृपाङ, खोपा हुँदै ख्वप यसको प्रागऐतिहासिक नाम हो । विसं १९९२ (८८ वर्षअघि) मा ‘भद्रगाउँ’ हुँदै ‘भादगाउँ’ हुन पुग्यो । यहाँका मानिस भगवान्को खुब आराधना गर्ने भएकोले जुद्धशमशेरले ‘भक्तहरूको सहर’ यो नगरको नाम भक्तपुर राखे भन्ने भनाइ पनि छ । उतिखेरका ‘भगवान्’का भक्त नगरवासी यतिखेर जनपक्षीय राजनीतिको ‘भक्त’ भएका छन् । यसैले वर्षौंदेखि भक्तपुरको सेवामा तल्लीन नेमकिपाको जनपक्षीय राजनीतिक नेतृत्वलाई विश्वास दिँदै आएका छन् ।

विसं २००६ मै भक्तपुर म्युनिसिपिलिटीको नाममा गठित जेठो भक्तपुर नपाको ‘श्रेष्ठ’ कुरा अद्यावधि छ । कमरेड रोहितद्वारा अक्षरमा चित्राङ्कित ‘सय वर्षपछिको भक्तपुर’ को सम्पन्न नक्सा कस्तो होला ? भक्तपुरको वर्तमान नीति, योजना तथा कार्यव्रmम र जनपक्षीय नेतृत्वको निरन्तरतामा भर भर्छ । कम्युनिस्ट सिद्धान्त, विचार र तदनुकूलको आचरणको व्यावहारिक कार्यान्वयनमा भर पर्छ ।

भक्तपुरले सांस्कृतिक वैभव त पाएकै छ । यसैले उपत्यकाको सांस्कृतिक, पर्यटनको मुख्य गन्तव्य हुँदै आएको हो । यताका दिनमा सांस्कृतिक पर्यटनको गन्तव्य मात्र होइन ‘राजनीतिक पर्यटन’ गर्ने मुख्य गन्तव्य पनि भक्तपुर बन्ने छ तर सिद्धान्तच्युत पार्टी, तिनका नेता र भ्रष्ट प्रतिनिधिका लागि भक्तपुर नजाने गाउँको बाटो हो । नजाने गाउँको बाटो कसले सोधिरहन्छ ?   

  

Author

भवानी बराल