• ७ पुस २०८१, आइतबार

महिलाविरुद्ध हुने हिंसाको स्वरूप अनेक रूपमा देखा पर्नु दुखद: उपराष्ट्रपति यादव

blog

काठमाडौैँ, मङ्सिर  ९  गते । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस । संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय गरे बमोजिम आजदेखि डिसेम्बर १० सम्म विश्वभर सञ्चालन गरिने लैङ्गिक हिंसाविरूद्धको १६ दिने अभियान सुरु भएको छ । 

उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई शिक्षित, स्वावलम्बी र आत्मनिर्भर बनाउँदै उनीहरुविरुद्ध हुने लैङ्गिक, मानसिक, सामाजिक र आर्थिक हिंसा निर्मूलका लागि सबैजना दत्तचित्त भई आआफ्नो स्थानबाट सहयोग र चेतना फैलाउनु आजको आवश्यकता भएको उल्लेख गर्नुभएको छ । 

महिलाविरुद्ध हुने हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस, २०८० को उपलक्ष्यमा स्वदेशसहित विश्वभरका सम्पूर्ण महिला दिदीबहिनीहरुको सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दै दिवसलाई कानुनले निषेध गरेको महिलाविरुद्धको सबै खाले हिंसाको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्ने अवसरका रुपमा सबैले लिनुपर्नेमा उहाँले जोड दिनुभयो ।  

“पछिल्लो समय महिलाविरुद्ध हुने हिंसाको प्रारुप, स्वरुप र तरिका अनेक रुपमा देखापर्नु अत्यन्तै चिन्ताको विषय हो, समयमै यसलाई निरुत्साहित र निर्मूलन गर्न अति जरुरी छ, यो दिवसले परिवार, समाज, देश र अन्तर्राष्ट्रिय स्तरमा महिला हिंसालाई निरुत्साहित गर्ने कार्यमा लाग्न सबैलाई उत्प्रेरित गर्न सकोस्”, उहाँले भन्नुभएको छ ।