फडिन्द्र अधिकारी
लेखनाथ, मङ्सिर ८ गते । केपी ओली कप टि–२० क्रिकेट प्रतियोगितामा शुक्रबार गण्डकी प्रदेशले सशस्त्र प्रहरी बल (एपिएफ) माथि ऐतिहासिक जित निकालेको छ । एपिएफले दिएको एक सय २ रनको लक्ष्य १९ ओभर ४ बलमा पूरा गर्दै गण्डकीले एपिएफलाई स्तब्ध पारेको हो ।
गण्डकीका लागि मुकेश थापाले सर्वाधिक २५ रनको योगदान गर्नुभयो । दिनेश बुढा मगरले २४, गौरव विक र अभिषेक थापाले समान ११ रन बनाउनुभयो । बलिङतर्फ एपिएफका अभिनाश बोहराले २ विकेट खसाल्नुभयो ।
टस हारेर पहिले ब्याटिङ गरेको एपिएफ १८ ओभर ४ बलमा १ सय १ मा समेटिएको थियो । पहिलो विकेट १७ रन र दोस्रो विकेट १७ रनमा गुमाएको एपिएफका विकेट लगातार गुम्दा ठूलो स्कोर कुनै खेलाडीले बनाउन सक्नुभएन ।
कप्तान प्रदीप ऐरी २०, असिफ शेख १२, लोकेश बम १२, भुवन कार्की १४ र सुमित महर्जनले १४ को योगदान गर्नुभयो । बलिङतर्फ गण्डकीका कप्तान बिपिन खत्री, अमृत गुरुङ, चन्द्र पौडेल र कमल परियारले समान २ विकेट लिँदा दिनेश बुढामगर र सुदीप अर्यालले १–१ विकेट खसाल्नुभयो ।
शुक्रबार बिहान भएको पहिलो प्रतियोगितामा बागमती प्रदेश सेमिफाइल प्रवेश गरेको छ । शुक्रबार कर्णाली प्रदेशलाई ९० रनले पराजित गर्दै बागमतीले सेमिफाइनल यात्रा तय गरेको हो ।
प्रतियोगिताको समूह ‘ए’का कर्णाली प्रदेश र मदन भण्डारी स्पोर्टस् एकेडेमी ‘रातो’ प्रतियोगिताबाट बाहिरिएका छन् । प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता छ ।