चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ८ गते। नेपालीहरुको चाडपर्व दसैँ, तिहार र छठमा खुला गरिएको ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबारदेखि पुनः सुरु गरिएको छ। चाडपर्वहरु सकिएसँगै फुङ्लिङ बजारको साप्ताहिक बन्द शुक्रबार (आज) देखि सुरु भएको हो।
ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अनुसार अब साविकझैँ प्रत्येक साताको शुक्रबार सदरमुकाम फुङ्लिङ बजार बन्द हुनेछ। विगतदेखि नै साताको एकदिन व्यावसायिक विश्रामको रुपमा बजार बिदा अर्थात बन्द गर्ने बाणिज्य सङ्घले बनाएको नियमअनुसार फुङ्लिङ बजार प्रत्येक शुक्रबार बन्द हुने गरेको छ।
मङ्सिर ८ गते शुक्रबारदेखि साप्ताहिक बन्द सुरु भएसँगै अब साताको छ दिन फुङ्लिङ बजार खुला हुने र सो समयमा व्यवसाय सञ्चालन तथा कारोबार हुने ताप्लेजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नारायण थापाको भनाइ छ।
उहाँका अनुसार दसैँ र तिहार नेपालीहरुको मुख्य चाड भएकाले सो समयमा उपभोक्ता तथा ग्राहकलाई आवश्यक सामान किनमेल गर्नमा सहज बनाउनका लागि बजार खुला गर्ने गरिएको थियो।
वाणिज्य सङ्घले यसवर्षको चाडपर्वका लागि गत असोज १२ शुक्रबारदेखि फुङ्लिङ बजार खुला गरेको थियो। वाणिज्य सङ्घले बजार खुलाएसँगै चाडपर्वको अवसरमा उपभोक्तालाई उपभोग्य वस्तुको मूल्यमा छुट सुविधा दिने गरेको छ।