• ११ पुस २०८१, बिहिबार

दुर्गा प्रसाईंद्वारा सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता

blog

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईं

काठमाडौं, मङ्सिर ८ गते । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपालका संयोजक दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको छ ।

भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी समेत रहनुभएका प्रसाईंले आज सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराउनुभएको भएको हो ।

उहाँले गैरकानुनी थुनाबाट मुक्त गरी पाऊँ भन्दै बन्दी प्रत्यक्षीकरणको आदेश माग गर्नुभएको छ । वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराउनुभएको हो ।

बिहीबार काठमाडौंको बल्खु क्षेत्रमा प्रदर्शन गरेका प्रसाईंका नेतृत्व समूहले शुक्रबार तीनकुनेमा प्रदर्शन गर्ने तयारी गरेका थिए । तर जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा प्रदर्शनको अनुमति नदिइएको प्रष्ट पारेको थियो । यससँगै सो क्षेत्रमा ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो भने केही समर्थकलाई पक्राउ गरिएको थियो ।

प्रसाईंलाई भने स्थानीय प्रशासनले घरबाट बाहिर निस्किन दिएको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले व्यवसायी प्रसाईंलाई नजरबन्दमा नराखिएको र सुरक्षा प्रदान गरिएको बताउनुभयो ।

उहाँले बैठकमा काठमाडौंको सुरक्षा चुनौती विश्लेषण गरिएको र यथोचित सुरक्षा प्रबन्ध मिलाउने बारेमा सम्बन्धित निकायहरुसँग छलफल गरेको बताउनुभयो । उहाँले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले तीनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको र निषेधित क्षेत्र तोड्ने, सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याउने, विशिष्ट पदाधिकारीको निवासमा घेराउ गर्ने उनीहरुमाथि आक्रमण गर्ने कार्यक्रम सार्वजनिक गरेकाले तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिइएको स्पष्ट पार्नुभयो ।

प्रजिअ बस्नेतले कानुन हातमा लिने कुप्रयास गर्ने समूह र व्यक्तिलाई चेतावनीस्वरुप अनुमति बिना कार्यक्रम गर्न नपाइने व्यवस्था गरेको बताउनुभयो ।