लीलाराज झापाली
बिर्तामोड, मङ्सिर ८ गते । कनकाई नगर खेलकुद विकास समितिद्वारा यहाँस्थित कनकाई माविको खेल मैदानमा आयोजित अन्तर वडा टि ट्वान्टी पुरुष क्रिकेट प्रतियोगिताको उपाधि वडा नम्बर ८ को टिमले हात पारेको छ ।
८ नम्बरको टिमले फाईनलमा ३ नम्बरको चुनौती १६ रनले पन्छाउँदै नगद ३१ हजार सहितको पुरस्कार राशीको उपाधि रक्षा गरेको हो ।
उपविजयी हुने कनकाई नगरपालिका ३ को टिमले नगद २१ हजार प्राप्त गर्नुभएको छ । विजयी तथा उपविजयी हुने खेडाली र टिमलाई कनकाई नगरपालिकाकी उपप्रमुख आशाशर्मा शिवाकोटी, कनकाई नगरपालिका ८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कनकाई नगर खेलकुद विकास समितिका संयोजक जविन तिम्सिना, राष्ट्रिय खेलाडी रोमा थापा लगायातले ट्रफि तथा प्रमाण पत्र प्रदान गर्नुभयो ।
पहिले ब्याटिङ गरेका ८ नम्बरले २० ओभरमा सबै विकेट गुमाउँदै ८७ रनको स्कोर खडा गरेको थियो भने जवाफी ब्याटिङ थालेको ३ नम्बरले १९ ओभरमा सबै विकेट गुमाउँदा ७१ रनमात्रै बनायो । ८ नम्बरका खेलाडी शेखर घिमिरेले एक्लै ५ विकेट लिनुभएको थियो । यता ३ नम्बरका खेलाडी प्रनिस बिमलीले २४ रन बनाएपनि टिमको हार टार्न भने सकेनन् ।
प्रतियोगिताकै सर्वोकृष्ट खेलाडी वडा नम्बर ८ का किरण रणपहेली हुनुभयो । यस्तै, यहि मङ्सिर १ गतेदेखि ७ गतेसम्म सञ्चालन गरेको प्रतियोगितामा कनकाई नगरका ९ वटा वडाको ११ टिमको सहभागिता थियो ।
उक्त प्रतियोगिताबाट २२ जना खेलाडी छनौट समेत गरिएको र उक्त टिमलाई बन्द प्रशिक्षणमा राखेर कनकाई नगरपालिकाको टिमबाट विभिन्न प्रतियोगितामा सहभागि हुने कनकाई खेलकुद विकास समितिका संयोजक जविन तिम्सिनाले बताउनुभयो ।