विष्णुप्रसाद पोखरेल
दमक, मङ्सिर ८ गते । झापाको दमक नगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत आर्थिक सहयोग गर्ने भएको छ ।
नगर कार्यपालिका बैठकले नगरपालिकाको तर्फबाट ५ लाख रुपियाँ रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत सहयोग गर्ने निणर्य गरेको नगरपालिकाका प्रमुख राम थापाले बताउनुभयो । अहिले त्यहाँ चिसोबाट जोगिनका लागि न्यानो कपडा आवश्यक छ, थापाले भन्नुभयो ।
नगरपालिका आफैँले सामग्री किनेर दिन लामो समय लाग्ने भएकाले एकद्वार प्रणालीबाट राहत पुगोस भनेर कोषमा नै रकम जम्मा गर्ने निर्णय गरिएको पनि नगरपालिकाले जनाएको छ ।
गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु बनाएर गएको भुकम्पले जाजरकोट र रुकुम पश्चिममा ठुलो जनधनको क्षति भएको थियो ।