लीलाराज झापाली
बिर्तामोड, मङ्सिर ८ गते । झापाको भद्रपुर विहिबारबाट अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । झापाका १५ पालिकाको सहभागिता रहने उक्त प्रतियोगिताको उद्घाटन खेलमा हल्दिबारी गाउँपालिका र बिर्तामोड नगरपालिकाले खेल बराबरी गर्दै अङ्क बाँडेका छन् ।
भद्रपुर झापा गोल्डकपको आयोजनामा मेची रङ्गशालामा भएको खेलमा सुरुवाती अग्रता हल्दिबारीले लिए पनि खेल बराबरी हुन पुग्यो । २–२ गोलको बराबरी भएपछि हल्दिबारी र बिर्तामोडको एकएक अङ्क भएको छ । खेलको २८ औं मिनेटमा हल्दिबारीका हिरण राजवंशीले गोल गर्दै टिमलाई अग्रता दिलाउनुभएको थियो । तर, ३१ औं मिनेटमा बिर्तामोडका सुजनविक्रम लिम्बूले गोल फर्काउँदै खेल बराबरीमा ल्याउनुभयो ।
त्यस्तै, खेलको ६२ औं मिनेटमा बिर्तामोडका रोमन भुजेलले गोल गर्दै टिमलाई अग्रता दिलाए पनि खेलको ७६ औं मिनेटमा हल्दिबारीका कप्तान विकास जवेगूले गोल फर्काएपछि खेल बराबरीमा सकिएको थियो ।
फुटबलको उर्वर भूमि झापाबाट युवा खेलाडी उत्पादन गर्ने उद्देश्यले आयोजना भएको प्रतियोगितको उद्घाटन पूर्वउपप्रधान तथा गृहमन्त्री कृष्णप्रसाद सिटौलाले गर्नुभएको हो । १८ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको फाइनल खेल मंसिर २४ गते हुने महासचिव जीवनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
प्रत्येक समूहका विजेता र उपविजेता आठ वटा टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । नकआउट चरणका खेलहरु क्वार्टर फाइनलबाट सुरु हुनेछन् । क्वार्टर फाइनलका खेल मङ्सिर १९ र २० गते हुनेछन् । सेमिफाइनलका खेल मङ्सिर २२ गते हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार रुपियाँ, ट्रफी र मेडल पाउनेछन् ।
त्यस्तै, उत्कृष्ट गोल किप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार रुपियाँ, ट्रफी र मेडल प्राप्त गर्नेछन् । प्रतियोगिता सम्पन्न गर्न ८० लाख रुपियाँ खर्चको अनुमान गरिएको छ ।