• २७ वैशाख २०८२, शनिबार

सेवा प्रभावकारी बनाउन अख्तियारको सुझाव

blog

काठमाडौँ, मङ्सिर ८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिका थप प्रभावकारी बनाउँदै लैजान सुझाव दिएको छ । 

अख्तियारले सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग गरेको अन्तर्क्रियामा प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तले कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको हो । 

उहाँहरूले छलफलपछि सहभागी निकाय तथा संस्थाका प्रमुखहरूलाई संस्थानको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी उत्पादकत्व वृद्धि गर्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँहरूले विषयगत मन्त्रालयले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने तथा सार्वजनिक निकायले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्धन गर्ने कार्य गर्नुपर्ने सुझाव र निर्देशन दिनुभयो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार आयोगले बुधबार र बिहीबार सार्वजनिक सेवा प्रवाह र विकास निर्माणको प्रभावकारितासम्बन्धमा सार्वजनिक नियामक निकाय तथा सार्वजनिक संस्थानसँग अन्तर्क्रिया गरेको हो । 

उहाँले कार्यक्रममा आयोगका पदाधिकारी र सार्वजनिक नियामक निकायका प्रमुखको उपस्थितिमा आयोगले दिएका सुझावको कार्यान्वयनबाट भएका उपलब्धि, सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासबारे छलफल भएको बताउनुभयो । त्यसै गरी पदाधिकारी, संस्थानसम्बद्ध विषयगत मन्त्रालयका सचिव र सार्वजनिक संस्थानका प्रमुखको उपस्थितिमा सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासबारे छलफल भयो । कार्यक्रममा आयोग र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका तर्फबाट छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो ।