हरिप्रसाद कोइराला
उर्लाबारी, मङ्सिर ७ गते । मोरङ उर्लाबारी—९ को पोमु परिवारले आफ्ना स्वर्गीय बुबा दुर्गाराज पोमुको स्मृतिमा स्थानीय एक विद्यालयमा दुई लाख रुपियाँको अक्षयकोष स्थापना गरेको छ । पोमुको परिवारले प्रभात आधारभूत विद्यालय उर्लाबारी–९ मा अक्षयकोष स्थापना गरेको हो ।
बिहीबार विद्यालयमा व्यवस्थापन समिति र पोमु परिवारबिच अक्षयकोष विषयमा छलफल भएको छ । छलफलले विद्यालयको शैक्षिक उन्नयनमा २ लाख बराबरको अक्षयकोष स्थापना गर्ने सम्झौता भएको छ ।
‘हामीले हाम्रा स्वर्गीय पिताको नाममा गरिब जेहेन्दार विद्यार्थीको पढाइमा सहयोग गर्ने उद्देश्यले अक्षयकोष खडा गरेका हौँ, कोषको ब्याजबाट विद्यालयमा बर्सेनि छात्रवृत्ति वितरण कार्यक्रम गरिनेछ’ छोरा लोलिम पोमुले भन्नुभयो, ‘हामीले प्रारम्भिक तहको शिक्षा लिएको विद्यालय भएकोले यहीँको शैक्षिक उन्नयनका लागि कोषको व्यवस्था गरिएको हो ।’
स्वर्गीय पोमु सोही विद्यालयका विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पनि हुनुहुन्छ । नयाँ पुस्तामा त्यो थाहा नहुन सक्छ, प्रभात स्कुल स्थापनामा उहाँहरूको अमूल्य योगदान रहेको छ । विद्यालयका प्रअ मोहन चाँपगाईले अक्षयकोष स्थापनाप्रति खुसी प्रकट गर्दै पोमु परिवारलाई धन्यवाद ज्ञापन गर्नुभयो।
पूर्वी नेपालको ताप्लेजुङस्थित तत्कालीन निगुरादिन—६ खानीगाँउमा जन्मनुभएका पोमुको गत कात्तिक २७ गते निधन भएको थियो ।