चन्द्र पन्दाक
ताप्लेजुङ, मङ्सिर ७ गते । ताप्लेजुङमा क्रियाशील शिक्षा तथा वातावरण विकास केन्द्र (रिड) नेपालले यस वर्षको छात्रवृत्ति वितरण गरेको छ । उच्च शिक्षा अध्ययन गरिरहेका जिल्लाको दुर्गम क्षेत्रका सातजना विद्यार्थीलाई रिड नेपालले छात्रवृत्ति वितरण गरेको हो ।
विगतदेखि नै रिड नेपालले प्रत्येक वर्ष उच्च शिक्षा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई जर्ज बैण्ड मेमोरियल छात्रवृत्ति प्रदान गर्दैआएको छ । सो छात्रवृत्तिबाट शैक्षिकसत्र २०८० का लागि तीन जना छात्रा र चार छात्रगरी सात जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । सन् २०१३ मा स्थापना भएको सो छात्रवृत्ति यस वर्षसमेत हालसम्म ८७ जनालाई प्रदान गरिएको रिड नेपाल ताप्लेजुङका कार्यक्रम प्रबन्धक राजेन्द्र पन्तले जानकारी दिनुभयो ।
पन्तका अनुसार तीनवर्षे हेल्थ असिष्टेन्टतर्फ फक्ताङ्लुङ गाउँपालिका –६ लेलेपकी दावाकिपा शेर्पालाई एक लाख ८० हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिएको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकका मुक्साम लिम्बूले तीनवर्षे हाइड्रो इन्जिनियरिङतर्फ एकलाख ८० हजार रुपियाँको छात्रवृत्ति पाउनुभएको छ ।
दुई वर्षे विज्ञान सङ्कायमा फुङ्लिङ नगरपालिका–४ का प्रवेश खतिवडा, सिरिजङ्घा गाउँपालिका –७ खेबाङका रिसव खत्री र फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपका दीपक लिम्बूले समान ८४–८४ हजार रुपियाँ छात्रवृत्ति पाउनुभयो ।
त्यस्तै, शिक्षा सङ्कायतर्फ फक्ताङ्लुङ गाउँपालिका –४ इखाबुका आयुषा लिम्बू र सिरिजङ्घा गाउँपालिका –७ खेबाङका सनिका इम्बुङ लिम्बूले ७२ हजार रुपियाँका दरले छात्रवृत्ति पाउनुभएको छ । यसवर्ष वितरण गरिएको छात्रवृत्ति रकम सात लाख ५६ हजार रुपियाँ बराबर रहेको रिड नेपालकी शिक्षा विकास अधिकृत रोमाकुमारी माबो लिम्बूले जानकारी दिनुभयो ।
विगत ११ वर्षदेखि निरन्तर रूपमा छात्रवृत्ति वितरण हुँदैआएको र हालसम्ममा छात्रवृत्ति वितरणमा मात्र ६४ लाख ५६ हजार ६८ रुपियाँ खर्च भइसकेको रिड नेपालका वित्त तथा प्रशासन प्रमुख तेजप्रकाश उपाध्यायले जानकारी दिनुभयो ।
फक्ताङ्लुङ गाउँपालिकाको इखाबु, लेलेप, तापेथोक, ओलाङ्चुङगोला तथा सिरिजङ्घा गाउँपालिकाको याम्फुदिन, खेबाङ र मामाङ्खेलाई कार्यक्षेत्र बनाएर रिड नेपालले आफ्नो गतिविधि गर्दैआएको छ । हिमालयन ट्रस्ट युके (बेलायत) को आर्थिक सहयोगमा यहाँको दुर्गम र हिमाली क्षेत्रको शैक्षिक प्रवर्धनका लागि रिड नेपालले काम गर्दै आएको छ ।
यता स्थानीय स्तरमा प्राविधिक जनशक्ति अभाव रहेको अवस्थालाई दृष्टिगत गर्दै कार्यक्षेत्र भित्रका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई पढाइमा सहयोग गर्ने उद्देश्यले छात्रवृत्ति वितरण गरिएको रिड नेपालले जनाएको छ ।