• ६ जेठ २०८१, आइतबार

घमी खोला मोटरेबल पुल निर्माण अलपत्र

blog

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको घमीखोलामा अलपत्र पक्की पुल । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

म्याग्दी, मङ्सिर ७ गते । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तर्गत घमी खोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको छ । ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण मुस्ताङको लोघेकर दामोदर कुण्ड गाउँपालिका २ अन्तर्गत घमीखोलामा निर्माणाधीन मोटरेबल पुल अलपत्र परेको हो । 

पाँच वर्षअघि निर्माण सुरु भएको पुलको भौतिक प्रगति जम्मा ४७ प्रतिशत छ । दुवैतर्फ पुलको पिल्लर मात्र निर्माण गरिएको छ । कार्यस्थलमा निर्माण सामग्री यत्रतत्र छरिएका छन् । पक्की पुल निर्माण नहुँदा बर्खायाममा माथिल्लो मुस्ताङ जान जोखिम मोलेर सवारीसाधन आवतजावत गर्नुपर्ने बाध्यता छ ।  

चालिस मिटर लामो उक्त पुल दुई वर्षभित्र निर्माण सम्पन्न गर्न २०७५ मङ्सिर १६ गते हिमदुङ एण्ड थोकर इमोट्रल कन्स्ट्रक्सन जेभी काठमाण्डौँसँग ६ करोड ८० लाख ९ हजार ९ सय ५३ रुपियाँमा ठेक्का सम्झौता भएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने पुल ठेकेदारको ढिलासुस्ती र लापरबाहीका कारण अलपत्र परेको कालिगण्डकी कोरिडोर(मालढुङ्गा–बेनी–जोमसोम) सडक योजनाका इन्जिनियर विष्णु चापागाईँले बताउनुभयो । 

‘‘पुल निर्माणका लागि कार्यालयका तर्फबाट पटक-पटक पत्रमार्फत ताकेता गर्दा पनि ठेकेदारले बेवास्ता गरेको छ उहाँले भन्नुभयो, ‘‘पछिल्लो पटक थपिएको म्याद आगामी चैत महिनाको ३० गते समाप्त हुँदैछ ।’’ 

खोलामा पक्की पुल नहुँदा काँठेपुल बनाएर सवारीसाधन आवतजावतको व्यवस्था गरिएको छ । बर्खायाममा खोला बढेर आउँदा माथिल्लो मुस्ताङ जाने स्थानीयवासी र पर्यटकहरूलाई  सास्ती हुने गरेको लोमान्थाङ गाउँपालिका ५ का वडाध्यक्ष ढुकके विष्टले बताउनुभयो । 

यसैगरी, मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलामा पुल निर्माण अलपत्र बनाउने कम्पनीसँगको ठेक्का सम्झौता तोडिएको आयोजनाका इन्जिनियर चापागाईँले बताउनुभयो । 

बीस–बीस मिटर दूरीका दुईवटै पुल निर्माणको लागि विसं २०७५ मा गणपति निर्माण कम्पनीले बेनी–जोमसोम–कोरला सडक आयोजनासँग ठेक्का सम्झौता गरेको थियो । पटक-पटक ताकेता गर्दासमेत सन्तोषजनक काम गर्न नसकेर पुल अलपत्र बनाएपछि ठेक्का सम्झौता तोडिएको आयोजनाले जनाएको छ । 

कैकुखोलामा २० मिटर लामो मोटरेबल पुल बनाउन तीन करोड २५ लाख र लार्जुङखोलाको पुलको तीन करोड २९ लाखमा ठेक्का सम्झौता भएको थियो । ५०–५० प्रतिशत भौतिक प्रगति भएको दुईवटै पुलको पिलर ठड्याउने काम सकिएको छ । कैकुखोलामा बर्खामा बाढी आउँदा सवारीसाधन आवतजावतमा समस्या हुने गरेको छ ।

अस्थायी पुलमा जोखिम मोलेर सवारीसाधन वारपार गराइन्छ । पर्वतको मालढुङ्गा, म्याग्दी हुँदै मुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने दुई सय ८ किलोमिटर दूरीको मालढुङ्गा–बेनी–जोमसोम–कोरला सडक योजनामार्फत आठवटा पक्की पुल र तीनवटा बेलिब्रिज निर्माण सकिएका छन् । थप एक मोटरेबल पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ । बाह्वटा मोटरेबल पुल निर्माणाधीन छन् । थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको आयोजनाले जनाएको छ ।