• ६ जेठ २०८१, आइतबार

ठगी गिरोहका नाइके सुनारको घरबाट रकम बरामद

blog

पक्राउ परेकाहरु । तस्विर : नेपाल प्रहरी

भवानी ऐर

गोदावरी (कैलाली), मङ्सिर ७ गते । कैलालीस्थित धनगढीमा कार्यालय सञ्चालन गरेर अनलाइन ठगी आरोपमा पक्राउ परेका ह्याकर गिरोहका प्रमुखको घरबाट ठुलो परिमाणको रकम बरामद भएको छ । 

ठगी धन्दाका मुख्य नाइके रहेका कञ्चनपुरको बेल्डाँडी गाउँपालिका –२ का विशाल सुनारको घरमा प्रहरीले छापा मारेर ४६ लाख ९१ हजार ६८० रुपियाँ बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जानकारी दिनुभयो । 

धनगढीबाट बैङ्कको खाता ‘ह्याक’ गर्ने नौ जना गिरोहको समूहलाई प्रहरीले बुधवार पक्राउ गरेको थियो । नेपाल राष्ट्र बैङ्कको धनगढी शाखा नजिक कार्यालय नै स्थापना गरेर उनीहरूले बैङ्कको खाता ह्याक गर्ने र विभिन्न ठगीका कामहरू गर्दैआएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ पर्नेमा कञ्चनपुरको बेलडाँडी गाउँपालिका–२ का ३० वर्षीय विशाल सुनार, वर्ष २८ का कमल सुनार, वर्ष २२ का जयराम सुनार, भारतको दिल्ली पालङ्गा बस्ने वर्ष ३२ का अमित कुमार रहेका छन् । 

यस्तै, भारत दिल्लीको उत्तमनगर बस्ने वर्ष २६ का कुनाल शर्मा, दिल्लीको करोलबाग बस्ने निखिल कुमार, दिल्ली बस्ने प्रियंसु टापु, डोटीको शिखर नगरपालिका–१० का २१ वर्षीय प्रशान्त बलायर र कञ्चनपुरको पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मीनबहादुर सुनार पक्राउ परेका छन् । 

विशाल सुनारले अवैध रूपमा आइटी सञ्चालन गरी अनलाइन ठगी गरिरहेको विशेष सूचनाको आधारमा प्रहरीले गिरोहका व्यक्तिलाई पक्राउ गरेको हो । उनीहरूले तारानगरस्थित शिवदत्त पाण्डेयको पक्की घरको दोस्रो तलामा आइटी सेन्टर सञ्चालन गरेका थिए । 

अनलाइन ठगी गर्ने सो गिरोहले मनी लाउण्ड्रीङ, बिमा दुर्घटनालगायत विषयमा विशेष गरेर पोल्यान्डका नागरिकलाई ठगी गर्नेगरेको प्रहरी नायब उपरीक्षक चन्दले बताउनुभयो । उहाँले पक्राउ परेकालाई नियन्त्रणमा लिएर थप अनुसन्धानको काम भइरहेको जानकारी दिनुभयो । 

बुधवार सुदूरपश्चिम प्रदेश प्रहरी अन्तर्गत प्रदेश प्रहरी अनुसन्धान समूह (आरआइटी) का प्रहरी सहायक निरीक्षक अनिल विष्ट र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट प्रहरी नायक निरीक्षक प्रकाश कडायत तथा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालको काण्डसहितको संयुक्त टोलीले सो गिरोहलाई पक्राउ गरेको थियो । 

पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले विभिन्न कम्पनीको ११ वटा ल्यापटप, आठ थान मोबाइल, वर्ल्ड लिङ्कको एक थान राउटर, १२ थान हेडफोन र एक थान किबोर्डसमेत बरामद गरेको छ ।