• ४ पुस २०८१, बिहिबार

पानी संरक्षण गर्न ‘रिचार्ज’ पोखरी

blog

केदार तिमल्सिना 

बनेपा, मङ्सिर ७ गते । खानेपानीका मुहान सुक्न नदिन काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रमा पुनर्भरण (रिचार्ज) पोखरी निर्माण गरिएका छन् । डिभिजन वन कार्यालय काभ्रेपलाञ्चोकले विगत केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम गर्दै आएको छ भने केही स्थानीय तहले समेत रिचार्ज पोखरी र मुहान संरक्षणको काम गर्दै आएका छन् । 

डिभिजन वन कार्यालयका सूचना अधिकारी सहायक वन अधिकृत गौरव भट्टले खानेपानीका मुहान सुक्न नदिन केही वर्षदेखि सामुदायिक वनभित्र रिचार्ज पोखरी निर्माण गर्दै आएको जानकारी दिनुभयो । “तल्लो भेगका खानेपानीको मुहान सुक्न नदिन तथा चिस्यान कायम राख्न, बढी चिस्यान आवश्यक पर्ने वनस्पति संरक्षण तथा वन्यजन्तुलगायतका जीवजन्तुका लागि आवश्यक पर्ने पानी उपलब्ध गराउने उद्देश्यले रिचार्ज पोखरी निर्माणको काम गर्दै आएका छौँ,” सहायक वन अधिकृत भट्टले भन्नुभयो । 

गत आर्थिक वर्ष वन कार्यालयले पाँचखाल नगरपालिका–२ स्थित जामुन बोटे सामुदायिक वनमा एक लाख रुपियाँमा दुई वटा र मण्डनदेउपुर–१२ स्थित बासखर्क सामुदायिक वनमा एक लाख रुपियाँको लागतमा एउटा रिचार्ज पोखरी निर्माण गरेको थियो । गत वर्ष नै बेथानचोक गाउँपालिका–४ स्थित कालापानी सामुदायिक वन र गेलु खोला सामुदायिक वनभित्र एक/एक वटा र चौँरीदेउराली गाउँपालिका–१ स्थित चिनीम्राङ आहालडाँडा सामुदायिक वनभित्र एउटा रिचार्ज पोखरी निर्माण गरिएको सहायक वन अधिकृत भट्टले जानकारी दिनुभयो ।

यस जिल्लामा आव २०७४/७५ देखि विभिन्न स्थानमा रहेका सामुदायिक वनभित्र रहेको सिमसार संरक्षण तथा रिचार्ज पोखरी निर्माणको कामले तीव्रता पाएको कार्यालयले जनाएको छ । कार्यालयले चालु आवका लागि चार वटा पोखरी निर्माण वा पानीको मुहान संरक्षणका लागि भन्दै आठ लाख रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ । 

यसै गरी बनेपा नगरपालिका–९ ले आफ्नो वडाभित्र रहेको लामागाउँ, ठकुरीगाउँ र मगरगाउँमा रहेको सामुदायिक वनमा करिब दुई सय वटा साना÷ठुला रिचार्ज पोखरी निर्माण गरेको छ । वडाध्यक्ष नृपेश वादेले गत वर्ष प्रधानमन्त्री रोजगार कार्यव्रmम अन्तर्गत दुई लाख रुपियाँ र वडाको केही रकमबाट वनभित्र पोखरी खन्ने काम गरिएको बताउनुभयो । 

“वनभित्र रिचार्ज पोखरी निर्माण गरेपछि सुकेका खानेपानीका मुहान पुनः पलाएको छ, यस वर्ष पनि हामी खानेपानीको मुहानको संरक्षण, सरसफाइका साथै बर्सातको पानी सङ्कलनका लागि रिचार्ज पोखरी खन्ने काम गर्ने छौँ,” वडाध्यक्ष वादेले थप्नुभयो । 

बर्सातको पानी सङ्कलन गरी खानेपानीको मुहान सुक्न नदिनका लागि जिल्लाको रोसी गाउँपालिका, बनेपा नगरपालिका, बेथानचोक गाउँपालिका, मण्डनदेउपुर नगरपालिका, नमोबुद्ध नगरपालिकालगायतका विभिन्न स्थानीय तहका दुई दर्जनभन्दा बढी सामुदायिक वनभित्र रिचार्ज पोखरी, मुहान संरक्षण र सिमसार संरक्षणको काम भएको सहायक वन अधिकृत भट्टले बताउनुभयो ।