• ५ जेठ २०८१, शनिबार

बेलायत र भूपू गोर्खाबिच वार्ता, मागहरू दीर्घकालीन समाधानको माग

blog

करुण अर्याल

लन्डन, मङ्सिर ७ गते । नेपाल र संयुक्त अधिराज्य(बेलायत) सरकारबिच भूतपूर्व गोर्खाको पेन्सन र सुविधालगायतका विषयमा बेलायतको रक्षा मन्त्रालयमा बुधवार मन्त्रीस्तरीय वार्ता सम्पन्न भएको छ ।

भूतपूर्व गोर्खाहरूको माग सम्बोधनका विषयमा गठित द्विपक्षीय समितिको यो तेस्रो बैठक  हो ।  बैठकमा यसअघि भएका द्विपक्षीय समितिका बैठक तथा प्राविधिक तहमा भएको छलफलका आधारमा पेन्सन एवं कल्याणकारी सुविधाहरूका बारेमा भएका प्रगतिको समीक्षा भएको लन्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

बेलायती रक्षा मन्त्रालयले भूपू गोर्खाहरूले उठाएका धेरैजसो विषयहरूमा आफ्नो जवाफ प्रस्तुत गरिसकेपछि उक्त विषयमा नेपालको तर्फबाट बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य  र भूपू गोर्खाको तर्फबाट अवकाशप्राप्त मेजर जुद्धबहादुर गुरुङले ती विषयहरूमा तर्कहरूसहित प्रतिउत्तर दिनुभएको राजदूतावासले जनाएको छ ।  नेपाल र बेलायतबिचको ऐतिहासिक सम्बन्धलाई दृष्टिगत गर्दै यसको आधार स्तम्भको रूपमा रहेका भूपू गोर्खाका मागहरूका विषयमा दीर्घकालीन समाधानका लागि राजदूत आचार्यले बेलायती अधिकारीसमक्ष अनुरोध गर्नुभएको थियो ।  बैठकमा परराष्ट्र मन्त्रालयका युरोप अमेरिका महाशाखा प्रमुख गणेशप्रसाद ढकालले नेपाल सरकारको तर्फबाट परराष्ट्रमन्त्री नारायण प्रकाश साउदको सन्देशसहित भूपू गोर्खाका मागहरू शीघ्र सम्बोधन गर्ने विषयमा जोड दिनुभएको थियो । 

बैठकमा नसमेटिएका एवं थप अध्ययन गर्नुपर्ने विषयहरूमा पुनः अर्को बैठकमा छलफल गर्ने सहमति भएको बैठकमा सहभागी नेपाली दूतावासकी उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो । उहाँले बेलायती पक्षले आन्तरिक छलफलपछि अर्को वार्ताका लागि मिति तय गर्ने  सहमति भएको पनि बताउनुभयो । 

भूपू गोर्खाको तर्फबाट बैठकमा सहभागी तथा गोर्खा सत्याग्रह सङ्घर्ष समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले गोर्खाले उठाएका लोक कल्याणकारी लगायतका मुद्दामा बेलायती पक्ष सकारात्मक रहेको बताउँदै पेन्सनलगायतका मुद्दा अर्को वार्तामा छलफल गर्ने सहमति भएको जानकारी दिनुभयो । उहाँले आन्तरिक छलफल पछि वार्ताका लागि मिति र समय तोक्ने सहमति भएको बताउनु भयो । वार्ताको विकल्प छैन,राईले भन्नुभयो,‘ वार्ता चली रहँदासम्म आन्दोलन हुँदैन ।’ उहाँले आफूहरूको बटमलाईन पेन्सन भएको पनि स्पष्ट पार्नु भयो । 

बेलायत सरकारका तर्फबाट बैठकको नेतृत्व रक्षा राज्यमन्त्री एन्ड्रिउ मुरिसन,नेपाल सरकारका तर्फबाट राजदूत आचार्य तथा भूपू गोर्खाहरूका तर्फबाट अवशका प्राप्त मेजर गुरुङले गर्नुभएको थियो । बैठकमा नेपाली राजदूतावासका उपनियोग प्रमुख खनाल,सैनिक सहचारी सहायक रथी रत्नबहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट धर्मबहादुर तामाङ, कृष्णबहादुर राई तथा बेलायत सरकारको तर्फबाट रक्षा मन्त्रालय र अन्तर्गतका अधिकारीहरूको सहभागिता थियो । यसअघि ०७९ चैत २६ र २७ मा दोस्रो तथा ०७९ कात्तिक १७ गते पहिलो मन्त्रीस्तरीय वार्ता भएको थियो । यसै गरी प्राविधिक तहमा गत मङ्सिर २८, माघ १, वैशाख ६ र भदौ २५ गते वार्ता भएका थिए ।