• १२ फागुन २०८०, शनिबार

पाल्पामा सुन्तला महोत्सव हुने

blog

किसानले उत्पादन गरेको सुन्तला । तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, मङ्सिर ६ गते । सुन्तलाको बजार प्रवर्द्धन गर्न जिल्लामा पहिलो पटक सुन्तला महोत्सव हुने भएको छ । जिल्लाको पश्चिम भेगस्थित रिव्दीकोटमा पहिलो पटक सुन्तला महोत्सव हुन लागेको हो । 

आगामी मङ्सिर १६ गते रिव्दीकोटको पालुङ्मैनादीमा पहिलो पटक सुन्तला महोत्सव हुने रिव्दीकोट–७, का वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिनुभयो । सुन्तला अत्यधिक उत्पादन हुने क्षेत्रमा महोत्सव गर्न लागिएको उहाँले जानकारी दिनुभयो । सुन्तलाको बजार प्रवर्धन गर्न र सुन्तला उत्पादन गर्ने किसानलाई हौसला प्रदान गर्न महोत्सव हुन लागेको पालिकाले जनाएको छ । 

पाल्पाको रिव्दीकोट र रैनादेवी छहरा गाउँपालिका अत्यधिक सुन्तला उत्पादन हुने क्षेत्र हो । यहाँका अधिकांश किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपियाँसम्म आम्दानी गर्ने गरेको मैनादी कृषि सहकारीका अध्यक्ष वेनबहादुर पुनले बताउनुभयो । सुन्तला पाकेर हरेक किसानको सुन्तला बगैँचा यतिबेला पहेँलपुर बनेको उहाँले बताउनुभयो । 

यो वर्ष किसानले बोटबाटै ६५ देखि ७० रुपियाँ प्रतिकिलो सुन्तला बिक्री गरिरहेका छन् । बजारसम्म पु¥याए प्रतिकिलो एक सय रुपियाँ माथि पर्ने गरेको छ । पाल्पामा उत्पादन भएको सुन्तला भैरहवा, पोखरा, बुटवल, पाल्पा, काठमाडौं र जनकपुरसम्म निर्यात हुने गरेको छ । ४४ वर्षअघि यस क्षेत्रमा सुन्तला खेती सुरु भएको थियो । त्यसपछि बिस्तारै यस भेगका हरेक घरका किसानले सुन्तलाको व्यावसायिक खेती सुरु गरेको रिव्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो । पछिल्लो समय अन्य खेती छाडेर पनि सुन्तला खेती गर्ने किसानको सङ्ख्या बढ्दै गएको उहाँले बताउनुभयो । 

गत वर्ष पालुङ्मैनादीबाट मात्रै एक करोड ८० लाखको सुन्तला निर्यात भएको थियो भने यो वर्ष दुई करोड बढीको सुन्तला बाहिरी जिल्लामा निर्यात हुने अनुमान गरिएको छ । सुन्तला खेतीले उत्साहित यहाँका किसानलाई लुम्बिनी प्रदेश सरकार र स्थानीय सरकारले बिउ, मल, बिरुवा, प्राविधिक तथा बजारीकरणमा सहयोग गरेको छ ।