• ६ माघ २०८१, आइतबार

फूलकोबीको भाउ नपाउँदा चिन्तित

blog

सर्लाही समाचारदाता

सर्लाही, मङ्सिर ६ गते । फूलकोबी (काउली) ले मूल्य नपाउँदा सर्लाहीका किसान चिन्तित भएका छन् । उत्पादनको मुख्य समयमा कोबीको मूल्य नपाउँदा जिल्लामा तरकारी खेती गर्ने किसान मारमा परेका हुन् । यहाँका किसानले फूलकोबी अहिले मुस्किलले प्रतिकिलो १५ देखि २० रुपियाँमा बिक्री गरिरहेका छन् । 

चन्द्रनगर गाउँपालिका–३, कोइरियाही टोलका धनिपत महतोले यो वर्ष पानी नपरेर कोबी उत्पादन धेरै भएकाले आफू जस्ता कोबी खेती गर्ने किसानले मूल्य नपाएको गुनासो गर्नुभयो । “पानी नपरेर यो वर्ष रोपिएको सबै कोबी उत्पादन भएकाले भाउ राम्रो पाउन सकिएन,” उहाँले भन्नुभयो, “मैले अहिलेसम्म एक क्विन्टल कोबी २० रुपियाँ केजीमा मुस्किलले बिक्री गरेँ ।” अहिले एक कट्ठामा लगाएको कोबी बिक्री गरिरहेको र थप सात कट्ठामा कोबी हुर्किंदै गरेको महतोले सुनाउनुभयो । यो वर्ष यही भाउ रहिरहे उत्पादन लागत उठाउनसमेत मुस्किल पर्ने उहाँले गुनासो गर्नुभयो । 

गोडैता नगरपालिका–२, जयपुरका किसान पृथ्वी कुशवाहाले पनि यो वर्ष कोबी खेती गर्ने किसान उचित मूल्य नपाउँदा मारमा परेको दुःखेसो गर्नुभयो । “१५/२० रुपियाँ किलोमा कोबी बेचेर आफ्नो हैरानी र मल तथा विषादीको खर्च उठाउन मुस्किल छ,” उहाँले भन्नुभयो, “किसानले लागत उठाउन पनि कम्तीमा ४५ देखि ५० रुपियाँसम्म प्रतिकिलो हुनु पथ्र्यो ।”

जिल्लाका चन्द्रनगर, किसनपुर, रामवन, जयपुर, कौडेना, सिमरा भगवतीपुर, घुर्कौली, अत्रौली, हजरिया, बरहथवा, मूर्तियालगायत ठाउँमा व्यावसायिक रूपमा फूलकोबीको खेती हुने गरेको छ । यहाँका किसानले उत्पादन गरेको कोबी गाउँकै हाटबजारसहित लालबन्दी, नवलपुर, हरिपुर, गैर, मलङ्गवा, बरहथवा, बयलबासलगायत मुख्य बजारमा बिक्री हुने गरेको छ । स्थानीय बजारमा खपत भएर उभ्रिएको कोबी काठमाडौँसहित देशका विभिन्न बजारमा समेत निर्यात हुने गरेको छ ।