बाजुरा समाचारदाता
बाजुरा, मङ्सिर ६ गते । बाजुराका अधिकांश स्थानीयले हिउँद लागेसँगै चिसोबाट जोगिन भूकम्पले चर्किएका घरलाई टालटुल तथा लिपपोत गर्न थालेका छन् । सुरक्षित तथा नयाँ घरबासको व्यवस्थापन नभएपछि त्रिपालभित्रको चिसोबाट जोगिन चर्किएका घर टालटुल गर्न थालेका हुन् ।
केही समय त्रिपाल हालेर बस्दै आएका थियौँ, अहिले चिसो बढेपछि चर्किएका घर टालटुल गरेर बस्न सुरु गरेको खप्तडछेडेदह गाउँपालिका–५ का स्थानीय रामबहादुर रावतले बताउनुभयो ।
“नयाँ घर लगाउँ भने पैसा खर्च गर्नु पर्छ । आफूसँग पैसा नभएपछि चर्किएकै घरलाई टालटुल गर्दै बस्न सुरु गरेका हौँ, उहाँले भन्नुभयो ।” भूकम्पले ढुङ्गाको छाना भएको घरमा क्षति पु¥याएपछि कर्कटपाता राखिएको उहाँले बताउनुभयो ।
गत असोज १३ गते बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पले बाजुरामा धेरै घर चर्किएपछि यहाँका स्थानीयको त्रिपालको बास भएको थियो । घरबासको पर्खाइमा रहेका पीडितलाई अहिलेसम्म कुनै निकायबाट व्यवस्था हुन सकेको छैन ।
भूकम्पबाट प्रभावित भएकाले घरबासको व्यवस्थापन गरिदिनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकारसँग माग राख्दै आएका छन् । प्रत्येक वर्ष भूकम्प आउँछ घर भत्किन्छन् डाटा सङ्कलन हुन्छ । त्यसपछि त्यो कार्य त्यत्तिकै सीमित हुन्छ रावतले थप्नुभयो ।
बाजुराका अधिकांश स्थानीयको घर भूकम्पले भत्काएपछि गाँस, बास र कपासको समेत समस्या हुँदै गएको छ । भूकम्पपीडितलाई बस्न त के खानलाई समेत कहीँकतैबाट व्यवस्था भएको छैन ।
भूकम्पले बाजुराका १२६ घरहरू पूर्ण १७६ आंशिक र ३०७ घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । भूकम्प प्रभावित घरपरिवारलाई सुरक्षित ठाउँमा व्यवस्था गर्नका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभयो ।
भूकम्पपीडितलाई सहयोग
सामाजिक अभियन्ता रिता शाहीले जाजरकोटका भूकम्पपीडितलाई राहत वितरण गर्नुभएको छ । गरिब, दुःखी, असहाय तथा भूकम्पपीडितलाई सहयोग गर्दै आउनुभएकी शाहीले जाजरकोट र रुकुमका सात सयभन्दा बढी घरपरिवारलाई राहत सहयोग गर्नुभएको हो । कात्तिक १७ गते राति ११ बजे आएको भूकम्पबाट प्रभावित भएका जाजरकोट र रुकुमका स्थानीयलाई राहत वितरण गरेको सामाजिक अभियन्ता शाहीले बताउनुभयो । उहाँले खाद्यान्न, त्रिपाल, सिरक, डस्ना, खानेकुरा, न्यानो लुगा र कम्बल वितरण गर्नुभएको छ । देश विदेशमा रहेका सहयोगी दाताहरूको अनुरोधमा जाजरकोटको नलगाड नगरपालिका–१ देखि ८ का छ सय र जाजरकोट आठबिसकोट नगरपालिकाका ७० भन्दाबढी घरपरिवारलाई छ लाख बराबरको राहत वितरण गरिएको छ ।
बाजुराको बुढीगङ्गा–३ की शाही र कैलाली गौरीगङ्गा बस्ने समाजसेवी लक्ष्मी बोगटीलगायतको सहयोगमा राहत सामग्री वितरण गरिएको हो । मृतकका आफन्त गर्भवती र सुत्केरी महिलालाई नगद एक लाख रुपियाँसमेत हस्तान्तरण गरिएको सामाजिक अभियन्ता शाहीले बताउनुभयो ।