• १३ मंसिर २०८१, बिहिबार

बजेट नहुँदा निर्माणमा समस्या

blog

हुम्ला समाचारदाता

हुम्ला, मङ्सिर ६ गते । जिल्लाको पवित्र धार्मिक तथा पर्यटकीय स्थल खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्यमा बाधा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्झौता अनुसार हालसम्म बजेटको व्यवस्था नगर्दा निर्माण कार्य अघि बढाउन समस्या भएको हो ।

खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलका अनुसार दुई वर्षअघि पाँच करोड लागत लाग्ने गरी खार्पुनाथ शिवालय क्षेत्रको निर्माण कार्य सुरु गरिएको थियो । तथापि बजेट अभावका कारण निर्माण कार्य अघि बढाउन समस्या भइरहेको छ । शिवालय क्षेत्र पर्यटकीय स्थलका रूपमा पर्दछ । सो निर्माण कार्यका लागि पर्यटन मन्त्रालयले साढे तीन करोड र गाउँपालिकाले साढे एक करोड बजेटको साझेदारी गरेको छ । उहाँले गाउँपालिकाले दिने डेढ करोड बजेट अघिल्लो आर्थिक वर्षसम्म भुक्तानी दिइसकिएको र  मन्त्रालयले दुई आर्थिक वर्षमा जम्मा ६० लाख बजेट पठाएको जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले बजेट समयमै नपठाउँदा निर्माण प्रभावित बनेको र लागतसमेत बढ्ने अवस्था छ । 

शिवालय क्षेत्रको निर्माण कार्यको जिम्मा धर्म एस ग्याङ्चुक जेभीले पाएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि कृष्ण हमालका अनुसार आव २०७७/७८ मा निर्माण अघि बढाउन सम्झौता भए पनि बजेट अभावले काम गर्न समस्या भएको हो । सम्झौता अनुसार शिवालय क्षेत्रको निर्माण कार्य २०८१ साल वैशाख महिनामा सम्पन्न गर्नुपर्ने छ । निर्माण कम्पनीले शिवालय क्षेत्र जाने सडक ढलान, कर्णाली नदी किनारमा ग्याबिन हाल्ने, दोजाम कर्णाली नदीको टापुमा पार्क निर्माण गर्ने कार्य गरिरहेको जनाइएको छ ।

देउसी खेली पुस्तकालयलाई किताब

यसैबिच सिमकोट गाउँपालिका–१ र २ को ठेहे गाउँका विद्यार्थीले तिहारमा देउसीभैलो खेली विद्यालयको पुस्तकालयलाई आर्थिक सहयोग गरेका छन् । हुम्लाबाट गएर काठमाडौँमा अध्ययन विद्यार्थीले रामदेव माध्यमिक विद्यालयको पुस्तकालयलाई सहयोग गरेका हुन् । 

ठेहे उदयमान युवा क्लबको आयोजनामा काठमाडौँमा खेलिएको थियो । देउसीभैलोबाट ५५ हजार रुपियाँ सङ्कलन भएको बताइन्छ । सो रकमले सामान्य ज्ञान, कथा, निबन्ध, साहित्य, गजललगायतका पुस्तक खरिद गरी विद्यालयलाई सहयोग गरिएको क्लबका अध्यक्ष हिक्मत भण्डारीले जानकारी दिनुभयो ।