• १४ मंसिर २०८१, शुक्रबार

दोलखाबाट करोडौँको कुट्की निर्यात

blog

प्याकिङका लागि कुट्की केलाउँदै । तस्बिर सौजन्य: जीवन लामा

बाबुराम शर्मा 

दोलखा, मङ्सिर ६ गते । मार्वुबाट वर्षमा करोडौँको कुट्की निर्यात हुने गर्दछ । दोलखाको गौरीशङ्कर गाउँपालिका–७ मार्वुबाट करोडभन्दा बढीको कुट्की निर्यात हुँदै आएको छ । उच्च हिमाली भेगमा पाइने जडीबुटी कुट्की मार्वुको च्छोकुम, बुधे पोखरी, पाङलाखीलगायतको क्षेत्रमा पाइने गरेको बताइन्छ । 

रुघाखोकी, उच्च रक्तचाप र ज्वरोको औषधिको रूपमा प्रयोग हुने कुट्की यहाँबाट एक पटकमा २५ हजार केजी लाने गरेको कुट्की सङ्कलक सुरेन्द्र अधिकारीले बताउनु भयो । उहाँका अनुसार कुट्की प्रतिकेजी बजार मूल्य एक हजार पाँच सय रुपियाँ पर्दछ । कुट्की खन्नको लागि यस भेगमा जुम्लाबाट ४० जनाभन्दा बढी आएको र दुई महिना सङ्कलनका लागि समय लाग्ने गरेको छ । 

कुट्की जत्ति धेरै खन्न सक्यो उत्ति नै बढी उम्रिने गर्दछ । यो क्षेत्र कुट्कीका लागि उपयुक्त रहेको छ । एक ठाउँमा एक पटक खनेपछि पाँच वर्षसम्म नउम्रिने सङ्कलक सुरेन्द्र अधिकारीले बताउनु भयो ।  कुट्की खन्ने सिजन भदौ र असोज महिना हो । सुकाउन र बोरामा प्याकिङ गर्न निकै समय लाग्ने गर्दछ । कुट्की खन्नका लागि जुम्लाबाटै मजदुर ल्याउने गरिएको छ । जुम्लाका व्यक्तिहरू यस सम्बन्धी अनुभवी र मिहिनेत भएकाले अन्यत्र पनि उनीहरुनै प्रयोग गर्ने गरेको अर्का कुट्की सङ्कलक रुद्रबहादुर अधिकारीले बताउनु भयो । 

तयार भएको कुट्की नेपालगन्ज या चीनमा निर्यात गर्ने गरिएको छ । नेपालको कर्णाली प्रदेशका ५ जिल्ला र दोलखामा पनि अधिक मात्रमा पाइने उहाँले बताउनु भयो ।