लीलाधर वली
घोराही, मङ्सिर ६ गते । दाङको घोराहीमा व्यावसायिक रूपमा स्ट्रबेरी खेती सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१४, झिङ्गौरामा करिब नौ कट्ठा जग्गामा व्यावसायिक स्ट्रबेरी खेती गरिएको हो ।
रोल्पा र म्याग्दी जिल्ला निवासी दुई जना युवा मिलेर दाङको घोराहीस्थित झिङ्गौरामा रहेको स्वर्गद्वारी आश्रमको जग्गा लिजमा लिएर व्यावसायिक स्ट्रबेरी खेती गरेको सञ्चालक वीरेन्द्र खड्काले बताउनुभएको छ ।
कृषिमा आइएस्सी एजी अध्ययन गर्नुभएका खड्काले आफ्नै ठाउँमा केही फरक खाले कृषि व्यवसाय गर्नु पर्छ भन्ने उद्देश्यले करिब तीन वर्षअघिबाट दाङ एग्रोमार्ट कृषि फार्म स्थापना गरेर पुष्प व्यवसायसँगै यस वर्षदेखि स्ट्रबेरी खेती सुरु गरेको बताउनुहुन्छ ।
स्ट्रबेरी खेतीका लागि खड्कालाई म्याग्दी निवासी बेग पुनले सहयोग गरिरहनुभएको छ । सञ्चालक खड्काले भन्नुभयो, “कृषिसम्बन्धी अध्ययन गरेको र आफ्नै ठाउँमा केही गर्नु पर्छ भन्ने उद्देश्य अनुसार पाँच वर्षअघि कृषि फार्म स्थापना गरेर पुष्प व्यवसाय गर्दै आएका थियौँ । यो वर्षबाट दाङमा व्यावसायिक स्ट्रबेरी पनि सुरु गरेका छौँ ।”
जिल्लामा ठुलो क्षेत्रमा व्यावसायिक रूपमा खेती गरेको पहिलो नै भएको उहाँ बताउनुहुन्छ । उहाँका अनुसार नौ कट्ठा जग्गामा करिब आठ लाख रुपियाँ बराबरको १० हजार पाँच बिरुवा रोपेको बताउनुभयो ।
भारतको हैदराबादबाट तराईको जमिनमा पनि उत्पादन लिन सकिने उन्नत जातको स्ट्रबेरीको बिरुवा ल्याएर रोपेको सञ्चालक खड्का बताउनुहुन्छ । स्ट्रबेरी फल स्वादिलोसँगै पौष्टिक गुणले समेत राम्रो फल मानिने र बिक्रीका लागि समस्या नहुने भएकाले आठ लाख रुपियाँ लगानी गरेर खेती गरिएको खड्का बताउनुहुन्छ । उहाँले भन्नुभयो, “नयाँ ठाउँमा पहिलो पटक खेती गरिएको र बिरुवा ल्याउँदा, सिँचाइका लागि थोपा सिँचाइका लागि मल्चिङ विधि अपनाउँदा आठ लाखभन्दा बढी खर्च भएको छ ।” भदौको अन्तिमतिर रोपेका बिरुवाले मङ्सिरको अन्तिमतिरबाट उत्पादन दिने तयारीमा रहेको भन्दै सञ्चालक खड्काले भन्नुभयो, “रोपेका बिरुवा भर्खर फूल खेल्न थालेका छन्, यो महिनाको अन्तिमतिरबाट उत्पादन सुरु हुने आशा छ ।”
स्ट्रबेरीका लागि उपयुक्त हावापानी र माटो भएकाले खेती गरेको भन्दै उहाँले जिल्लामा उत्पादन भएको स्ट्रबेरी घोराही, तुलसीपुरलगायतका बजारसँगै माग अनुसार जिल्लाबाहिर पनि पठाउने तयारी रहेको सञ्चालक बताउनुहुन्छ ।
परम्परागत कृषि व्यवसायलाई बदल्दै आधुनिक प्रविधिका माध्यमबाट नयाँ व्यवसाय गर्नु पर्छ भनेर जिल्लामा स्ट्रबेरीसँगै पुष्प व्यवसाय गर्दै आएको खड्का बताउनुहुन्छ ।