• १४ मंसिर २०८१, शुक्रबार

छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव–२०८०

हवाईजहाजको स्वरूपमा स्वागतद्वार निर्माण

blog

भैरहवा समाचारदाता

भैरहवा, मङ्सिर ६ गते । ‘उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन’ नारासहित भैरहवामा हुने छैटौँ लुम्बिनी प्रादेशिक महोत्सव २०८० को तयारी पूरा भएको छ । उद्योग व्यापार सङ्गठन रुपन्देहीको आयोजनामा भैरहवाको अञ्चलपुरमा मङ्सिर ६ देखि १८ सम्म हुने महोत्सवको तयारी पूरा भएको हो । 

मङ्गलबार पत्रकार सम्मेलन गरी सङ्गठनका अध्यक्ष दर्पण श्रेष्ठले महोत्सवको ९५ प्रतिशत काम पूरा भएको बताउनुभयो । महोत्सवको आकर्षणका रूपमा मुख्यद्वारलाई हवाईजहाजको स्वरूपमा निर्माण गरिएको छ । उहाँले लुम्बिनीको आर्थिक विकासको आधार पर्यटन मान्दै सरकारबाट निर्माण भएको अर्बौं  रुपियाँ लगानीमा विमानस्थल तयार भएर चल्न नसकेको, होटल व्यवसाय धराशायी भएका बेला सरकारलाई दबाब दिने गरी विमानको आकृति र स्थलका रूपमा महोत्सव स्थल बनाएर विरोध देखाउन खोजिएको बताउनुभयो । 

श्रेष्ठले भारतबाट कालिगड ल्याएर करिब पाँच लाख रुपियाँ खर्च गरेर विमानस्थलको स्वरूप निर्माण गरिएको बताउनुभयो । उहाँले पशुपतिनाथको मन्दिरका साथै बाल उद्यान निर्माणलगायत मनोरञ्जन दिने पर्याप्त स्थल दर्शकले पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “कृषि, उद्योगका नयाँ नयाँ प्रविधिको प्रचार र पर्यटन प्रवर्धन गर्ने लक्ष्य रहेको छ ।” स्थानीय उत्पादनको प्रवर्धन गर्ने, सीमा क्षेत्रमा मेलाबाट स्वदेशी उत्पादनलाई प्रचारप्रसार गर्ने उद्देश्यसमेत मेलाले लिएको छ । मेला उद्घाटनअघि बुधबार बिहान जनचेतनामूलक ¥याली निकालिने छ । यसै गरी अनुगमन समिति गठन गरेर मेलामा राखिने स्टलको गुणस्तरप्रति सचेत गराइने छ । 

कार्यक्रममा सङ्गठनका सल्लाहकार तथा सांस्कृतिक संयोजक नारायण भण्डारीले मेला महोत्सवलाई ठेक्का दिने प्रवृत्ति रोक्न जरुरी रहेको बताउनुभयो । सरकारबाट नै महोत्सव व्यवस्थापनमा लाग्नुपर्ने भन्दै उहाँले देशभरका धेरै स्थलमा गरिने महोत्सवलाई व्यवस्थित गर्न लाग्नुपर्नेे सुझाव दिनुभयो । 

उहाँले भन्नुभयो, “लुम्बिनी प्रदेशकै पहिचान हुने गरी महोत्सव गर्न लागेको भए पनि प्रदेश सरकारबाट कुनै सहयोग छैन ।” भण्डारीले उद्योग, कृषि र पर्यटनको विकास गर्न स्थानीयस्तरबाट गरिएको सबै खाले कामलाई सरकारबाट कुनै सहयोग नहुने गरेको बताउनुभयो । उहाँले विदेशमा राखिने यस्ता महोत्सवमा सहभागीलाई सरकारबाट नै भत्ताको व्यवस्था गरिने भए पनि नेपालमा भने कुनै सहयोग नआउने दुःखेसो गर्नुभयो । महोत्सवमा ११ बजेसम्म निःशुल्क प्रवेशको व्यवस्था भएको र त्यसपछि भने टिकट लाग्ने व्यवस्था मिलाइएको छ । महोत्सवमा राष्ट्रिय, स्थानीय साथै भारतीय चर्चित भोजपुरी कलाकार पुनम पाण्डे, नेपालका उमेश पटेललगायतको प्रस्तुति रहने छ ।

कार्यक्रममा सङ्गठनकी महासचिव लक्ष्मी अधिकारीले तीन लाख दर्शकले अवलोकन गर्ने महोत्सवमा २५ करोड रुपियाँको कारोबार हुने आयोजकको लक्ष्य रहेको बताउनुभयो ।