• १२ साउन २०८१, शनिबार

डा. थापाको पुस्तक ‘राष्ट्र–परराष्ट्र’ लोकार्पण

blog

काठमाडौँ, मङ्सिर ६ गते । डा. भेषबहादुर थापाको आत्म संस्मरणात्मक पुस्तक ‘राष्ट्र–परराष्ट्र: एकतन्त्रदेखि गणतन्त्रसम्म’ लोकार्पण भएको छ । पूर्वपरराष्ट्रमन्त्री, पूर्व राजदूत एवम् नेपाल राष्ट्र बैङ्कका पूर्व गभर्नर डा. थापाले मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी पुस्तकको लोकार्पण गर्नुभएको हो । 

सांसद द्वय डा. स्वर्णिम वाग्ले, सुमना श्रेष्ठ, पत्रकार द्वय सुधीर शर्मा, हरिबहादुर थापा र लेखक डा. भेषबहादुर थापाले पुस्तकको संयुक्त रूपमा लोकार्पण गर्नुभएको थियो । पुस्तकमा डा. थापाले आफूले बाँचेको परिवेश, अपनाएको पेसा र सङ्गत गरेका पात्रहरूको सुन्दर एवम् सजीव चित्रण गरेको सांसद डा. स्वर्णिम वाग्लेले बताउनुभयो । ‘यस पुस्तकमा काजी खलकको कथा, कर्तव्य, दायित्वको सन्तुलन, पात्रहरूका विराट् सम्बन्धहरूको कूटनीतिक व्याख्या छ,’ सांसद डा. वाग्लेले भन्नुभयो, ‘डा. थापाको यो पुस्तक कर्तव्य र सेल्फ इन्ट्रेस्टको सन्तुलन हो । जिम्मेवारीको सामाजिक र आर्थिक पक्षको डकुमेन्टेसन पनि भएको बताउनुभयो । 

पुस्तकमा डा. थापाले आफ्नो कर्म जीवन एवम् पारिवारिक जीवन आदि विविध पक्षको चित्रण जीवन्त रूपमा आए पनि कतिपय विषयवस्तुमा थप व्याख्या र विस्तार आवश्यक रहेको सांसद सुमना श्रेष्ठले बताउनुभयो । ‘म जस्ता युवाका लागि देशको अतीतको ज्ञान दिन यो पुस्तक सहयोगी छ । मलाई लाग्छ, अर्को यस्तै पुस्तक पनि डा. थापाको आउनुपर्छ उहाँले भन्नुभयो ।’

पुस्तक पुस्ता हस्तान्तरणको एउटा दस्ताबेज रहेको उहाँको भनाइ छ । नेपालको कूटनीतिदेखि शासन–प्रशासनसम्मका विषयमा रहेका वास्तविकता पुस्तकमा रहेकाले यसले वर्तमान पुस्तालाई देशको विगत बुझाउन सहयोग पुग्ने उहाँले जनाउनुभयो । 

डा. भेषबहादुर थापाले जीवनको ६५ वर्ष राज्यका लागि कूटनीतिक जिम्मेवारीमा बिताएको भनिदिए पनि हुने लेखक तथा पत्रकार सुधीर शर्माले बताउनुभयो । ‘यो पुस्तक पढ्दा उहाँ नेतृत्वको भन्दा पनि देशप्रति उत्तरदायी रहेको बुझ्न सकिन्छ,’ उहाँले भन्नुभयो । ‘उहाँलाई राजाको मान्छे भन्ने गरिए तापनि राजदरबारसँगै टसल परेको पनि देखिन्छ ।’ 

डा. भेषबहादुर थापाको जीवनीमा आधारित पुस्तक ‘राष्ट्र–परराष्ट्र’ पत्रकार हरिबहादुर थापाले सहलेखन गर्नुभएको हो । ‘डा. थापाले २० वर्ष नेपालमै बसेर र २० वर्ष विदेशमा बसेर नेपालका लागि काम गरेकाले पुस्तकको नाम ‘राष्ट्र–परराष्ट्र’ राखिएको हो ।