• २४ वैशाख २०८१, सोमबार

गैँडा हत्या प्रकरण : अनुसन्धान पटके अभियुक्ततिर

blog

वसन्त पराजुली

नारायणगढ, मङ्सिर ६ गते । चितवन राष्ट्रिय निकुञ्जमा गैँडा मारिने र खाग, खुर पनि गायब हुने घटना भएपछि त्यसको अनुसन्धान विभिन्न पक्षबाट भइरहेको छ । पेसेवर सिकारी नै त्यसमा संलग्न भएको प्रारम्भिक निष्कर्षसहित अनुसन्धानको पाटो यसअघि यस्ता घटनामा संलग्न भई पक्राउ परेका, दोषी प्रमाणित भई थुनामा रहेका र कैद भुक्तान गरी बाहिरिएका व्यक्तितिर सोझिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको तथ्याङ्क अनुसार २०५८ यता गैँडा मारेको अभियोग लागेका ८८ जना त फरार नै छन् । २०६० यता १३३ जनाले कैद भुक्तान गरेका छन् । तर यसरी फरार रहेका वा जेल भुक्तान गरेका कति जना पुनः यो पेसामा फर्किए भन्ने तथ्याङ्क निकुञ्जसँग छैन ।

तथापि गैँडा मारेको पटके अपराधमा जेलमा परेका व्यक्ति अहिले पनि छन् । कालिका नगरपालिका–२, पदमपुरका राजन प्रजा गैँडा मारेको अभियोगमा नै चितवन कारागारमा पुर्पक्षका लागि थुनामा छन् । गैँडा मारेकै अभियोगमा २०६० देखि २०७२ सम्म १२ वर्ष पाँच महिना जेल बसेर छुटेका प्रजा पुनः २०७८ फागुन २० देखि दोस्रो पटक थुनामा परेका हुन् । 

गैँडा मारेकै अभियोगमा प्रजाविरुद्ध अहिले चितवन जिल्ला अदालतमा तीन वटा मुद्दा विचाराधीन छन् । कारागारका प्रमुख कमल आचार्य अहिले चितवन कारागारमा राजन जस्तै गैँडा मारेको पटके अभियोगमा चार जना थुनामा रहेका जानकारी दिनु हुन्छ । 

उहाँका अनुसार चितवन कारागारमा गैँडा मारेकै अभियोगमा ५४ जना बन्दी तथा थुनुवा छन् । तीमध्ये चार जना पटके अभियोग लागेका हुन् । 

राजन प्रजाको भने आफूमाथि लागेको दोस्रो पटकको अभियोग गलत भएको दाबी छ । प्रजाको भनाइ छ, “पछिल्लो पटक (२०७८ मा माडीमा गैँडा मारेको घटना) मा म संलग्न छैन ।” पहिलो पटक भने जानी नजानी गैँडा मार्ने काममा सहभागी भएको स्वीकार गर्दै गरिबी र अभावले नै मानिसहरू गैँडा मार्ने काममा संलग्न हुने तर्क प्रजाको छ । 

यी जानकारीमा आएका र मुद्दा दर्ता भएर फैसला भएका घटना हुन् । तर गैँडा मारिएका घटना जानकारीमा नआएका हुन सक्ने सम्भावना पनि पछिल्लो पटक गैँडा मारिएको घटनाले बढाएको छ । 

पछिल्लो पटक गत बिहीबार निकुञ्जको पूर्वी क्षेत्रमा पर्ने चपरचुली क्षेत्रको वडेला खोला नजिकै चोरी सिकारीले दुई पोथी गैँडा मारेर खाग लगेको अवस्थामा भेटिएका थिए । छ वर्षको गैँडा मरेको तेस्रो दिन र १८ वर्षे गैँडा मारेको १० औँ दिन भेटिएकाले जानकारीमा नै नआएका घटना अरू हुन सक्ने सम्भावना बढेको छ । सिकारीले खनेको खाडलको माटो पनि प्रमाणका रूपमा नराखी अन्तै फालेकाले यसलाई थप बल दिएको छ ।

यी गैँडा मारिएका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयले गठन गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक वेदकुमार ढकालको संयोजकत्वमा रहेको पाँच सदस्यीय छानबिन समितिले यी विविध पक्षबाट अनुसन्धान गरिरहेको छ । 

उहाँ भन्नुहुन्छ,“गैँडा मारिएको क्षेत्रको अवलोकन र सरोकार निकायका प्रतिनिधिलाई भेटेर अनुसन्धान सुरु गरेका छौँ । गैँडा मारिएका सम्बन्धमा हरेक पक्षलाई ध्यान दिएर हाम्रो अनुसन्धान पूरा गर्ने छौँ ।”

चितवन राष्ट्रिय निकुञ्जका पूर्वप्रमुख संरक्षण अधिकृत अणनाथ बराल गैँडाकै आनीबानी तथा हिमचिम थाहापाइरहेका पेसेवर सिकारी अहिले सक्रिय रहेका बताउनु हुन्छ । 

“निकुञ्जभित्र मारिएका कति सार्वजनिक भएका छन्, कति सार्वजनिक हुन सकेका छैनन् । सार्वजनिक नभएका त्यसै गुमनाम भएका छन्,” लामो समयदेखि आफ्नो सार्वजनिक रूपमै चितवन राष्ट्रिय निकुञ्जभित्र गैँडा मारिए पनि यथार्थ विवरण सर्वाजनिक हुन नसकेको दाबी गर्दै आउनुभएका बरालले भन्नुभयो, “पछिल्लो समय सिआइबीले धमाधम खागसहित गैँडा तस्कर पक्राउ गरिरहेका घटनाले पनि धेरै गैँडा मारिएका छन् भन्ने पुष्टि गर्छ ।” 

उहाँले गैँडा मार्ने काममा विगतदेखि नै जानकार वा फरार अभियुक्त र गैँडा मारेकै अभियोगमा कैद भुक्तान गरेका नै लागेको हुन सक्ने आशङ्का गर्नुभयो । निकुञ्जका संस्थापकमध्येका एक पूर्वप्रमुख संरक्षण अधिकृत रामप्रित यादव पनि जेलमुक्त भएकाको निगरानी राख्न आग्रह गर्नुहुन्छ । 

“गैँडाको चोरी सिकार गरेको अभियोग लागेका धमाधम जेलमुक्त पनि भएका छन्, यता गैँडा मारिने क्रम पनि बढ्न थालेको छ । उनीहरूको  निगरानी एवं  अनुसन्धान निरन्तर राख्न जरुरी देखियो,” उहाँको सुझाव छ । 

२०७३ चैतयता २०७७ सम्म निकुञ्जभित्र चोरी सिकारीले गैँडा मार्न सकेका थिएनन् । यो बेला निकुञ्जले चोरी सिकार सून्य वर्ष पनि मनायोे । तर पछिल्लो समय मारेको गैँडा भेटिएसँगै निकुञ्जमा चोरी सिकारी सलबलाउन थालेका देखिन्छन् । पूर्वप्रमुख संरक्षण अधिकृत यादव निकुञ्जमा हुने नियमित गस्ती तथा सुरक्षाका गतिविधि कम भएकाले पनि सिकारी सव्रिmय भएका दाबी गर्नु हुन्छ । 

सन् २०२१ को गणना अनुसार नेपालमा ७५२ गैँडा छन् । तीमध्ये गैँडाको मुख्य वासस्थान चितवन निकुञ्जमा मात्रै ६९४ गैँडा छन् । निकुञ्जमा सबैभन्दा बढी गैँडा आर्थिक वर्ष २०५८/५९ मा मरेका हुन् । यो वर्ष मरेका ४८ गैँडामध्ये ३७ वटा चोरी सिकारीले मारेका थिए । चालु आर्थिक वर्षको चार 

महिनामा मरेका ८ गैँडामध्ये चोरी सिकारीले मारेका ३ वटा हुन्  । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा निकुञ्जमा २ वटा गैँडा चोरी सिकारीले मारेका थिए  ।